रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटाबाट पहिलो पटक बिहीबार गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले गैरआवासीय नेपाली पार्वती कार्कीलाई नागरिकता प्रदान गरेको हो ।

Advertisement

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्कीलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरे । नागरिकता प्रदान गर्नुअघि उनलाई नेपालको संविधान र कानुनको पालना गर्ने भनी लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर र सपथ ग्रहणसमेत गराइएको छ ।

महालक्ष्मी-३, डाँडागाउँकी कार्की १६ वर्ष अघिदेखि अमेरिका बस्दै आएकी छन् । परिवारसहित अमेरिकामै बस्दै आएकी कार्कीले आठ वर्ष अघि नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएकी थिइन् । उनले आवश्यक कागजातसहित नागरिकता माग गरेकाले गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । ‘अहिले गैरआवासीय नेपालीलाई पनि नागरिकता दिने प्रावधान छ,’ पौडेलले भने, ‘हामीले धनकुटामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेका हौं ।’

नागरिकता प्राप्त गरेपछि कार्कीले खुशी व्यक्त गरिन् । ‘अमेरिका बसेपनि मलाई नेपालको मायाँ धेरै छ । धनकुटामै पहिलो पटक गैरआवासीय नागरिकता प्राप्त गर्ने व्यक्ति बन्न पाएको धेरै खुशी लागेको छ,’ कार्कीले भनिन् । नागरिकता ऐन संशोधन नियमावलीको व्यवस्था अनुसार गत असोज महिनाबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न थालिएको हो ।

गैरआवासीय नागरिकता प्राप्त गरेको व्यक्तिले नेपालमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउने प्रावधान छ । नेपालमा जग्गा जमिन खरिद गर्ने, व्यवसाय गर्ने लगायत अधिकार प्राप्त गरेपनि राजनैतिक अधिकार भने पाउँदैनन् । गैरआवासीय नेपालीले उम्मेद्वार बन्ने वा मतदान गर्ने अधिकार नपाउने प्रावधान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!