संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिइने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाहरूको बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

Advertisement

विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि यसअघि पटक-पटक महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए । व्यवसायीको गुनासोका विषयमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्ता सम्बद्ध संस्थासहितको बैठक राखिएको थियो । बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउनेछ । सोही कार्यविधिभित्र रहेर रात्रिकालीन व्यवसाय सञ्चालन गर्नुपर्नेछ । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कानुनले बर्जित गरेका बाहेक अन्य व्यवसाय सञ्चालनमा समस्या नहुने उल्लेख गरे । सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा दिने उनको भनाई छ । भट्टराईले होटल परिसर र बाहिर सीसी क्यामेरा जडान गर्न र ध्वनि प्रदूषण नगर्न व्यवसायीलाई आग्रह गरेका छन् ।

विराटनगरमा यसअघि साढे ९ नबज्दै प्रहरीले व्यवसाय बन्द गराउँने गरेको व्यवसायीहरूको गुनासो छ । भारतीय नम्बर प्लेटका सवारी साधन, भारतीय रुपैयाँ बोकेर आउने पर्यटकलाई दुःख दिने क्रम रोक्नुपर्ने, भारतीय पक्षसँग समन्वय गरेर राति १२ बजेसम्म भन्सार नाका खोल्नुपर्ने, मापसे चेकजाँचलाई व्यवस्थित बनाउनुपर्नेलगायतका माग पनि उनीहरूले अघि सारेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!