संगालोखबर सम्बाददाता

धनकुटा । कार्यसम्पादन मूल्याङ्कनमा धनकुटाका सात पालिका मध्ये चौबिसे गाउँपालिका उत्कृष्ट देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा धनकुटाका अन्य पालिकाको तुलनामा चौबिसे गाउँपालिका अब्बल देखिएको हो ।

Advertisement

चौबिसे गाउँपालिका ४०.१३ प्रतिशत अङ्क प्राप्त गरेर कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रथम भएको छ भने पाख्रीवास नगरपालिकाले सबैभन्दा कम २३.८९ प्रतिशत अङ्क पाएको छ । मूल्याङ्कनमा ३८.७३ प्रतिशत अङ्क प्राप्त गरेर साँगुरीगढी गाउँपालिका दोस्रो भएको छ । धनकुटा नगरपालिकाले ३५.३० प्रतिशत अङ्क प्राप्त गरेर तेस्रो भएको छ । ३३.६१ अङ्कसहित महालक्ष्मी नगरपालिका चौथो, २८.४९ प्रतिशत अङ्कसहित सहिदभूमि गाउँपालिका पाँचौ र २५.३७ अङ्कसहित छथर जोरपाटी गाउँपालिका छैटौँ भएको छ ।

आयोगले १६ वटा सूचकका आधारमा पालिकाको कार्यसम्पादन मूल्यांकन गरेको हो । जसमा राजश्व र व्ययको अनुमान समयमै गाउँ तथा नगर सभामा पेश गरे/नगरेको, समयमै पारित भए/नभएको, राजश्व सङ्कलनको अवस्था, बजेट खर्च, कार्यप्रगति र बेरुजुको अवस्थालाई  कार्यसम्पादन मूल्यांकनको आधार बनाइएको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको प्रगतिलाई पनि प्राथमिकताका साथ हेरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, उत्रिर्ण प्रतिशत, गर्भवती महिलाले नियमित गराउँनुपर्ने गर्भजाँचको अवस्था, स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या, खोप लगाउनुपर्ने बालबालिकालाई नियमित खोप लगाए/नलगाएको लगायत सूचकका आधारमा मूल्यांकन गरिएको आयोगले जनाएको छ ।

आधिकारिक तथ्यांक प्राप्त भए/नभएको तथा पोर्टल सञ्चालनमा रहे/नरहेकोले प्राप्त गर्ने अंकभार २४ मूल्याङ्कनमा समावेश नगरिएको आयोगले जनाएको छ । मूल्यांकनको नतिजा चित्त नबुझे पुनरावलोकनका लागि आधार र प्रमाणसहित निवेदन पेश गर्न आयोगले सात दिनको म्याद दिएको छ ।

यसअघि गत वर्षको कार्यसम्पादन मूल्याङ्कनमा धनकुटा नगरपालिका ६६.६० प्रतिशत अङ्कसहित जिल्ला प्रथम भएको थियो । संघीय सरकारबाट प्रदान गरिने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले हरेक वर्ष कार्यसम्पादन मूल्यांकन गर्ने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!