संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरमा अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । विराटनगर महानगरपालिकाले स्थानीय आदर्श माध्यमिक विद्यालयमा आइतबार एक दिने प्रदर्शनी आयोजना गरेको हो ।

Advertisement

महानगरका मेयर नागेश कोइरालाले प्रदर्शनी उद्घाटन गरेका छन् । प्रदर्शनी उद्घाटन गर्दै मेयर कोइरालाले विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न प्रदर्शनीले थप प्रेरणा मिल्ने धारणा राखे ।

महानगरले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन भएको उल्लेख गरे । ‘तपाइहरु खोज अनुसन्धानमा लाग्नुहोस्, महानगरका तर्फबाट तपाईँहरूलाई सधैँ साथ रहन्छ,’ मेयर कोइरालाले विद्यार्थीहरूलाई भने, ‘प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरू प्राप्त हुन्छन् । आफैं स्वरोजगार पनि हुन सकिन्छ ।’ मेयर कोइरालाले अन्तरीक्षसम्बन्धी खोज अनुसन्धानका लागि प्रदेशस्तरमा केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका छन् । ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थीमध्ये हरेक विद्यालयबाट १ जना छात्रासहित ५ जना विद्यार्थीले सहभागिता जनाएका छन् ।

प्रदर्शनीमा प्रथमले १०, द्वितीयले ७, तृतीयले ५ र चौथो हुनेले ३ हजार पुरस्कारका साथै शिल्ड, ट्रफी र प्रमाणपत्र पाउने शैक्षिक महाशाखा संयोजक कृष्ण भट्टराईले जानकारी दिए ।

उनका अनुसार सहभागी विद्यालयमध्येबाट अनुकूलन, प्रस्तुति, भविष्यात्मक दृष्टिकोण र स्टल सजावटमा उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!