संगालोखबर सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले अब कांग्रेसको नेतृत्वमा सरकार बनाउँन प्रस्ताव अघि सारेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका सांसद शर्माले फागुन ७ गतेबाट सुरु हुने कांग्रेस महासमिति बैठकमा पेश गर्न लागेको १३ बुँदे प्रस्ताव आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन् ।

Advertisement

भ्रष्टाचार नियन्त्रण र सुशासन, निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन, बेरोजगारी समस्या समाधान र औद्योगिक क्षेत्रको विकास लगायत विषयमा विस्तृत प्रस्ताव पेश गर्ने योजना बनाएका सांसद शर्माले अप्राकृतिक गठबन्धनको अन्त्य र कांग्रेसको नेतृत्वमा जनमुखी सरकार निर्माणको विषयलाई प्राथमिकताका साथ समावेश गरेका छन् । माओवादी केन्द्रसँगको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिदै सांसद शर्माले यो गठबन्धन तोडेर कांग्रेसको नेतृत्वमा जनमुखी सरकार बनाउनुपर्ने धारणा राखे ।

कुनै कार्यक्रम नै नमिल्ने पार्टीहरूसँगको गठबन्धनबाट बनेको सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको र माओवादीको असक्षमताको भारी कांग्रेसले बोक्नु परिरहेको सांसद शर्माको ठहर छ । ‘अहिले सङ्घदेखि प्रदेशसम्म कांग्रेस सरकारमा छ । तर, त्यसको जग भने अप्राकृतिक छ । कांग्रेस भन्दा भिन्न राजनीतिक धारको माओवादी, एकीकृत समाजवादी र जसपासँग सहकार्य छ । यो गठबन्धन सैद्धान्तिक जगमा हेर्दा अप्राकृतिक भन्दा फरक पर्दैन,’ सांसद शर्माले भने, ‘कुनै कार्यक्रम नै नमिल्ने पार्टीहरूसँगको गठबन्धनबाट बनेको सरकारका काम कारवाही प्रभावकारी हुन सकेका छैनन् । न गृह प्रशासन चुस्त छ, न आर्थिक प्रशासनमै सरकारले आशा जगाउन सकेको छ । देशको अर्थतन्त्र ध्वस्त भइरहँदा हाम्रै पार्टीको नेतृत्वमा रहेको अर्थमन्त्रालयको भूमिका शून्य छ । उदार अर्थनीति अपनाउने कांग्रेसले अर्थमन्त्रालय सञ्चालन गरिरहँदा नीजि क्षेत्र आतङ्कित र ध्वस्त छ । लगानीकर्ताहरूको मनोबल गिरेको छ । सबैतिर आर्थिक सूचकांक कमजोर बनेको छ । यसको एउटा कारण अप्राकृतिक गठबन्धन हो । अब यसको अन्त्य गर्नुपर्छ ।’

अब, तत्काल यो अप्राकृतिक गठबन्धनबाट अलग भई कांग्रेसले लोकतान्त्रिक शक्तिहरूलाई एकत्रित गरेर आफ्नो नेतृत्वमा जनमुखी सरकार गठन गर्नुपर्ने सांसद शर्मा बताउँछन् । अहिलेको सरकारले जनताको हितमा काम गर्न नसकेकाले यसको विकल्प खोज्नुपर्नेमा उनको जोड छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!