
धनकुटा । नेकपा (माओवादी केन्द्र) धनकुटाका नेता कार्यकर्ताले पार्टीको केन्द्रिय कमिटी छरितो बनाउँन सुझाव दिएका छन् । माओवादी केन्द्रको प्रस्तावित विधान मस्यौदाका विषयमा पार्टीको जिल्ला समन्वय समितिले आयोजना गरेको छलफल तथा सुझाव संकलन कार्यक्रममा नेता कार्यकर्ताले यस्तो सुझाव दिएका हुन् ।
माओवादी केन्द्रको विधानमा केन्द्रीय समिति सदस्य संख्या २९९ हुने व्यवस्था छ । तर, अहिले केन्द्रीय समिति सदस्य संख्या ४ सय भन्दा बढी छ । माओवादीको जम्बो केन्द्रीय कमिटी भएको भन्दै पार्टीभित्रै टिकाटिप्पणी भइरहेका बेला धनकुटाका नेता कार्यकर्ताले पनि केन्द्रीय समिति सदस्य संख्या घटाउन सुझाव दिएका हुन् ।
केन्द्रीय कमिटी ठूलो र भद्दा हुँदा बैठक राख्न समस्या हुने गरेको छ । पार्टीका महत्वपूर्ण निर्णय स्थायी कमिटी र पदाधिकारी बैठकले गर्ने गरेकाले ठूलो कमिटीको अर्थ नहुने नेता कार्यकर्ताको बुझाई छ । कार्यक्रममा जिल्ला सचिवालय सदस्यहरूलाई पाँच समूहमा विभाजन गरी प्रस्तावित विधान मस्यौदामाथि संशोधनको प्रस्ताव र सुझाव संकलन गरिएको थियो ।

छलफलमा सहभागि अधिकांशले केन्द्रीय समिति सदस्य संख्या एक सय भन्दा मुनी बनाउँन सुझाव दिएको माओवादी केन्द्रकी धनकुटा संयोजक कुसुम कुमारी श्रेष्ठले जानकारी दिइन् । ‘विधानको मस्यौदामा केन्द्रीय कमिटी १५१ सदस्यीय बनाउँन प्रस्ताव आएको थियो,’ श्रेष्ठले भनिन्, ‘हामीले पाँच समूहमा विभाजन गरेर विधान मस्यौदामाथि छलफल गर्यौ, अधिकांशले पार्टीको केन्द्रिय कमिटीको संख्या घटाएर दुई अङ्कमा झार्नुपर्ने सुझाव दिनुभएको छ ।’
अहिले माओवादी केन्द्रको नाम परिवर्तनको गरेर समाजवादी पार्टी राख्नुपर्ने चर्चा पनि चलिरहेको छ । त्यसमा कसैले नाम परिवर्तन गर्नु उपयुक्त हुने धारणा राखेका छन् भने कतिपयले नाम परिवर्तन गर्न नहुने तर्क अघि सारेका छन् । माओवादीकै अभियानबाट मुलुकमा परिवर्तन आएको र माओवादी एउटा ‘ब्राण्ड’ बनिसकेकाले नाम परिवर्तन गर्न नहुने कतिपयको सुझाव छ ।

प्रदेश र जिल्ला समन्वय समितिलाई कार्यकारी बनाउनुपर्ने सुझाव पनि आएको छ । प्राप्त सुझावलाई लिपिबद्ध गरेर केन्द्रमा पठाइने माओवादी जिल्ला समन्वय समितिले जनाएको छ । माओवादी केन्द्रको विधान अधिवेशन आगामी फागुन १ देखि ३ गतेसम्म काठमाडौँमा हुदैछ । त्यसका लागि माओवादी केन्द्रले प्रस्तावित विधान मस्यौदामाथि देशभरबाट सुझाव संकलन गरिरहेको छ ।















