संगालोखबर सम्बाददाता

काठमाडौं । बालिकाहरूलाई होटलमा राखेर वेश्यावृत्ति गराएको आरोपमा धनकुटाकी एक महिला काठमाडौंबाट पक्राउ परेकी छन् । पैसाको लोभमा बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं.१ की आशा लामा भनिने ३६ वर्षीया लालमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

तामाङले काठमाडौं-३२ स्थित जडिबुटीमा टिमुरे क्याफे र चरिकोट गेष्टहाउस सञ्चालन गर्दै आएकी छन् । सोही क्याफे तथा गेष्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्ति गराएको भेटिएपछि तामाङलाई पक्राउ गरिएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए । ‘बालिकाहरूलाई सुरुमा होटलको वेटरको रुपमा राख्ने गरेको रहेछ, पछि फकाएर ग्राहकहरूसँग यौन सम्पर्क गराउँने गरेको पाइयो,’ प्रवक्ता पंगेनीले संगालोखबरसँग भने, ‘बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउँने गरेको थाहा भएपछि उनलाई पक्राउ गरेर कारबाही प्रकृया अघि बढाएका छौं ।’

उनले वेश्यावृत्तिमा प्रयोग गरेका १८ वर्षमुनिका दुई बालिकालाई प्रहरीले त्यहाँबाट उद्धार गरेको छ । उनीहरूलाई अहिले सुरक्षित आवासमा राखिएको छ । कमजोर आर्थिक अवस्था भएका गाउँका बालिकाहरूलाई ल्याएर यसरी दुरुपयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘गरिब परिवारका बालिकाहरूलाई पैसा पाइन्छ भनेर वेश्यावृत्तिमा लगाउँने गरेको रहेछ,’ प्रहरी प्रवक्ता पंगेनी भन्छन्, ‘ग्राहकसँग यौन सम्पर्क गरेबापत ती बालिकाहरूलाई थोरै पैसा दिने र ग्राहकबाट धेरै पैसा उठाउँने गरेको पत्ता लगेको छ ।’

तामाङले तीन वर्ष अघिदेखि यस्तो गतिविधि गराउँदै आएको खुलेको छ । उनलाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी प्रहरीले घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!