रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटामा रहेका केही सरकारी कार्यालय अन्य जिल्लामा सार्ने तयारी गरिएपछि नेकपा एमाले आन्दोलनमा उत्रिएको छ । धनकुटा सदरमुकाममा रहेको तथ्यांक कार्यालयलाई खोटाङ लैजान लागिएको र पाख्रीवासमा रहेको राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान कार्यक्रमलाई इलाम सार्न लागिएको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रिएको हो ।

Advertisement

एमालेले आइतबार धनकुटामा पत्रकार सम्मेलन गरेर कार्यालय सार्ने निर्णयको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जस अनुसार आइतबार नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ । अब, माघ १५ गते जिल्लाका सबै राजनीतिक दल र जनप्रतिनिधिहरूको संयुक्त भेला आयोजना गर्ने र माघ १६ गते धनकुटा बजारमा विरोध प्रदर्शन गरिने एमालेले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै एमाले नेताहरूले धनकुटालाई उजाड बनाउने सरकारको कमदविरुद्ध आन्दोलनको आँधिबेरी ल्याउने चेतावनी दिएका छन् ।

एमाले केन्द्रिय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राईले धनकुटेलीलाई सरकारले हेपेको भन्दै अब सरकारी कदमविरुद्ध निर्णायक आन्दोलन गर्ने बताए । ‘यो सरकारले हामीलाई धेरै हेप्यो, अब हामी दरो ढंगले यसको प्रतिवाद गर्छौ, यो विषयमा सरकारलाई झुकाएरै छोड्छौं,’ प्रतिनिधि सभा सदस्यसमेत रहेका राईले भने, ‘अब हामी अन्याय सहेर बस्नु हुदैन, धनकुटेलीहरु एकजुट भएर उत्रनुपर्छ ।’

एमाले अध्यक्ष इन्द्रमणि पराजुलीले धनकुटालाई सिध्याउन खोजिएको भन्दै अब धनकुटेली जाग्नुपर्ने आवश्यकता औंल्याए । ‘हामी चुप लागेर बस्ने हो भने अब धनकुटा सिदिन्छ, हामीमाथि ठूलो अन्याय गरिदैछ,’ प्रदेश सांसदसमेत रहेका पराजुलीले भने, ‘परिवर्तनको आन्दोलनमा बलिदानी दिनेहरुको जिल्ला हो धनकुटा, अब हामी त्यसै चुप लागेर बस्दैनौ, धनकुटेली जुर्मुराएर उठ्नुपर्छ । त्यसको नेतृत्व हामी जनप्रतिनिधिहरू गर्न तयार छौं ।’

पत्रकार सम्मेलन पश्चात एमाले नेताहरूले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । सरकारले धनकुटामाथि गम्भीर अन्याय गर्न लागेको भन्दै एमालेले यसको विरोधमा एकतावद्ध हुन सबै धनकुटाबासीलाई आव्हान गरेको छ ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!