संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा आगामी फागुन पहिलो साता ‘धनकुटा म्युजिक फेस्ट’ हुने भएको छ । न्यू नव प्रभाव क्लबले फागुन ४ र ५ गते टुँडिखेलमा धनकुटा म्युजिक फेस्ट अर्थात संगीत महोत्सव गर्न लागेको हो ।

Advertisement

संगीत प्रेमीहरूलाई लक्षित गरी सांगीतिक क्षेत्र र जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले धनकुटामा पहिलो पटक संगीत महोत्सव गर्न लागिएको महोत्सवका संयोजक रिदम श्रेष्ठले जानकारी दिए । ‘संगीत प्रेमीहरूलाई लक्षित गरेर हामीले धनकुटामा पहिलो पटक म्युजिक फेस्ट गर्न लागेका छौं,’ श्रेष्ठले संगालोखबरसँग भने, ‘म्युजिक फेस्टलाई सव्य र भव्य रुपमा सफल बनाउँन हामी तयारीमा जुटिरहेका छौं, यसलाई हामी उदाहरणीय बनाउँनेछौँ ।’

महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारहरुसम्मले सांगीतिक प्रस्तुती दिनेछन् । सांगीतिक प्रस्तुतिका लागि चर्चित गायक सविन राई, कालिप्रसाद बाँस्कोटासहितका राष्ट्रिय कलाकारहरू महोत्सवमा आउँनेछन् । सविन राई एण्ड द फारोह, चुम्बक, फ्रि बड्स, आरोह, फुल भोल्युम, स्काइ एडी लगायत चर्चित व्याण्डहरुको सांगीतिक प्रस्तुती हुने आयोजक क्लबका अध्यक्ष गोविन्द राईले जानकारी दिए ।

महोत्सवमा प्रवेशका लागि फरक-फरक किसिमको टिकटको व्यवस्था गरिएको छ । एक दिन मात्र प्रवेशका लागि अग्रिम टिकट काट्दा प्रति व्यक्ति ३ सय रुपैयाँ पर्नेछ । महोत्सवकै दिन कार्यक्रम स्थलमा टिकट काट्नेहरुले भने एक दिनको ४ सय रुपैयाँ तिर्नुपर्नेछ । तर, दुई दिनकै लागि अग्रिम टिकट काट्नेहरुले भने ५ सय रुपैयाँमै दुई दिन सांगीतिक मनोरञ्जन लिन सक्ने आयोजक समिति सदस्य सरिन प्रधानले जानकारी दिए । उनका अनुसार भोलिबाट टिकट बिक्री थालिनेछ । 

महोत्सवमा खानाका परिकारको स्टल पनि रहनेछ । जिल्लाका सात वटै पालिकाका प्रमुख पर्यटकीय गन्तव्यहरूको पनि प्रदर्शनी हुनेछ । लागूऔषध दुर्व्यसनीविरुद्ध सचेतना अभिवृद्धि पनि गरिनेछ । महोत्सवको मिडिया पार्टनर संगालोखबर रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!