संगालोखबर सम्बाददाता

विराटनगर । कोशी प्रदेशमा ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियान सुरु भएको छ । प्रदेश सरकारले मोरङ र झापाबाट शुक्रबार यो अभियान सुरुवात गरेको हो ।

Advertisement

विराटनगरस्थित रानी र नेमुवामा आयोजित कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले अभियान शुभारम्भ गरे । कोशी प्रदेशभरिका सवारी चालकहरूको लागूऔषध तथा मादक पदार्थ सेवन जाँच र आँखा जाँच गर्न विशेष अभियान थालिएको हो ।

लागू पदार्थ तथा मादक पदार्थ सेवन गरे/नगरेको जाँच गर्ने कीट हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले चेक जाँच कार्य नियमित गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । लापसे, मापसे गरेर सवारी चलाउँदा दुर्घटना मात्रै नभई स्वास्थ्यमा पनि गम्भीर समस्या उत्पन्न हुने भएकाले यसलाई रोक्नुको विकल्प नभएको उनले बताए । ‘यो अभियानलाई नागरिकको जीवन बचाउ अभियानका रुपमा सुरु गरेका छौं,’ मुख्यमन्त्री कार्कीले भने, ‘सवारी दुर्घटनाबाट प्रदेशमा धेरैले अकालमा ज्यान गुमाइरहेका छन्, घाइतेको तथ्याङ्क पनि बढिरहेकाले सरकार गम्भीर भएर यो अभियान सुरू गरेको हो ।’

मुख्यमन्त्री कार्कीले सडकमा यात्रा गर्दा अनुशासित भएर नियमको पालना गर्न प्रदेशवासीलाई पनि आग्रह गरे । ‘हामीले अस्पताल गएर उपचार गराउने भन्दा पनि अस्पताल नै जाने अवस्था कसरी अन्त्य गर्ने भन्नेतर्फ जानू पर्छ,’ उनले भने ‘लापसे र मापसेले ज्यान गुम्छ, त्यसैले यसको नियन्त्रणका लागि हामीले नागरिकको ज्यान जोगाउने अभियान सुरु गरेका हौं ।’

आन्तरिक मामिला तथा कानून मन्त्रालयले नागरिकको सुरक्षाका लागि प्रदेशभरि सडक सुरक्षा अभियान सुरु गरेको उक्त मन्त्रालयका मन्त्री शमशेर राईले जानकारी दिए ।

कोशी प्रदेशमा दैनिक औसत ८ वटा सवारी दुर्घटना हुने गरेको र त्यसमा सरदर एक जनाले ज्यान गुमाउनुका साथै झण्डै १२ जना घाइते हुने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!