विनोद बिष्ट/संगालोखबर

काठमाडौं । विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा धनकुटाका दुई जना काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चौबिसे गाउँपालिका वडा नं.६ की उर्मिला चेम्जोङ र धनकुटा नगरपालिका वडा नं.२ का दिपेन्द्र राईलाई पक्राउ गरेको हो ।

Advertisement

उनीहरूले फरक-फरक व्यक्तिसँग रकम लिएर ठगी गरेको आरोप छ । काठमाडौं किर्तिपुर ट्याङ्लाफाँट बस्दै आएकी ४८ वर्षीया उर्मिलाले संगत थापासहित दुई जनालाई पोर्चुगल पठाइदिन्छु भनेर ठगी गरेको र काठमाडौं-३२ बस्दै आएका ३२ वर्षीय दिपेन्द्रले क्रोएसिया पठाइदिन्छु भनेर जयराम भण्डारीलाई ठगी गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उर्मिलाले पोर्चुगल जान प्रतिव्यक्ति १० लाख लाग्ने भनेर उनीहरूबाट १० लाख ५० हजार रुपैयाँ लिएकी थिइन् । थापासहित दुई जनालाई पोर्चुगलको प्रतिष्ठित कम्पनीमा ड्राइभिङको काम लगाइदिने र त्यहाँ प्रति महिना एक लाख तलब हुन्छ भनेर पैसा लिई उर्मिला सम्पर्कविहीन भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । उजुरीपछि प्रहरीले किर्तिपुर-१० स्थित ट्याङलाफाँटाबाट उनलाई नियन्त्रणमा लिएको हो ।

यता, दिपेन्द्रले क्रोएसिया पठाइदिन्छु भनेर जयरामबाट  ५ लाख रुपैयाँ लिएका थिए । उनले क्रोएसिया जान ११ लाख लाग्ने र विदेश गएपछि महिनाको एक लाख कमाइ हुने आश्वासन दिएर पैसा लिई सम्पर्कविहीन भएको आरोप छ । भण्डारीले उजुरी दिएपछि खोजी गर्ने क्रममा दिपेन्द्रलाई प्रहरीले नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

विदेश पठाउँछु भनेर ठगी गरेको आरोपमा केही दिनअघि धनकुटाको हुलाकटोलका एक युवा पनि काठमाडौंबाट पक्राउ परेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!