संगालोखबर सम्वाददाता

काठमाडौँ । काठमाडौं मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले आचरण विपरीत काम गरेका एक जना विद्यार्थीको विषयलाई लिएर शिक्षा मन्त्रीले निलम्बन फुकुवा गर्न पत्र लेख्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । केएमसीले एक महिनाका लागि निलम्बन गरेका डा.विशद दाहालको निलम्बन फुकुवाका लागि शिक्षामन्त्री अशोक राईले मङ्गलवार निर्देशनसहितको पत्र पठाएपछि केएमसी सञ्चालक शर्माले शिक्षा मन्त्रीको कदम हास्यास्पद र लज्जास्पद भएको टिप्पणी गरेका हुन् ।

Advertisement

शिक्षा मन्त्री राईले पदको दुरुपयोग गरेर कलेजलाई पत्र पठाएको भन्दै सञ्चालक शर्माले अब कानूनी बाटो खोज्ने चेतावनी दिए । ‘मन्त्री जस्तो व्यक्तिले आचरण विपरीत काम गरेका एक जना विद्यार्थीलाई निलम्बन गरेको विषयलाई लिएर पत्र काट्नु हास्यास्पद र लज्जास्पद हो,’ काँग्रेस सांसदसमेत रहेका शर्माले भने, ‘शिक्षा मन्त्रीको चिठ्ठीले हामीलाई केही फरक पर्दैन । हामी ३५ दिन भित्र अदालत जान्छौ ।’ शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलपछि वार्ता गरेर समाधान गर्ने तयारी भइरहेको बेला मन्त्रीको चिठ्ठीले वातावरण थप बिगारेको उनको भनाई छ ।

केएमसीमा अध्ययनरत डा.दाहालले स्वास्थ्य शिविरको विरोध गरेको भन्दै कलेजले एक महिना निलम्बन गरेपछि १३ दिन अघिदेखि कलेजमा आन्दोलन सुरु भएको हो । निलम्बन गरिएका दाहाललाई कलेज प्रशासनले प्रवेश दिएको छैन । यही विषयमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सांसद डा. तोसिमा कार्की लगायतले मन्त्रालयले केही नगरेको भन्दै हरेक दिन प्रश्न उठाएपछि शिक्षामन्त्री अशोक राईले विश्वविद्यालयलाई निलम्बन फुकुवा गर्न निर्देशन दिएका हुन् ।

मन्त्रीले दिएको निर्देशनमा भनिएको छ, ‘हेल्थ क्याम्प, फिल्ड भिजिट सम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्रै स्वास्थ्य शिविरमा विद्यार्थीलाई खटाउने कार्य गर्नु गराउनु हुन र निलम्बित विद्यार्थी डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार गराउन काठमाडौँ विश्वविद्यालय ऐन २०४८ को दफा १३ क उपदफा ३ बमोजिम निर्देशन दिएको छु ।’

यो पत्र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको दबाबमा आएको सञ्चालक शर्मा बताउँछन् ।

‘यसको अर्थ दूर दराजका गरिब जनतालाई सेवा नगर्नु भनेको हो । हेल्थ क्याम्प गर्नु अपराध हो ? गोविन्द केसीले राजीनामा माग्देला भनेर डराएर मन्त्रीज्यूले हामीलाई पत्र काटेको होला । हामीलाई केही फरक पर्दैन,’ डा.शर्मा भन्छन्, ‘एक महिनासम्म पनि ती विद्यार्थी सुध्रिएन भने तिम्रो विद्यार्थी फिर्ता लैजाऊ भनेर विश्वविद्यालय पठाइदिन्छौँ । एक जना विद्यार्थीको कारणले २२ सय विद्यार्थी पढ्ने कलेजको सम्बन्धन विश्वविद्यालयले कसरी खारेज गर्दो रहेछ हेरौँला ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!