रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-२ ढोलमुखामा आयोजित प्रथम खाल्साथुम कप अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ । महिला र पुरुषतर्फ बेग्लाबेग्लै भएको दुवै प्रतियोगिताको उपाधि भोजपुरले जितेको हो ।

Advertisement

पुरुषतर्फको फाइनल खेलमा हतुवागढी-७ लाई पराजित गर्दै हतुवागढी-९ भोजपुरले उपाधि जितेको छ । उपाधिसँगै हतुवागढी-९ ले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हतुवागढी-७ ले २५ हजारमा चित्त बुझाएको छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा धनकुटा, भोजपुर र तेह्रथुमका १३ टिमबीच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो ।

महिलातर्फको फाइनल खेलमा पाख्रीवास-१० लाई हराउँदै आमचोक-९ भोजपुरले उपाधि चुमेको हो । उपाधि विजेता आमचोकले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता पाख्रीवासले २० हजार हात पारेको छ । महिलातर्फको प्रतियोगितामा धनकुटा र भोजपुरका ९ टिम प्रतिष्पर्धामा उत्रिएका थिए ।

दुवै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि भोजपुरकै बनेका छन् । पुरुषतर्फको खेलमा हतुवागढी-९ का राजकुमार तामाङ र महिलातर्फको खेलमा आमचोक-९ का आरुसा तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भएर जनही २ हजार ५ सय पुरस्कार पाएका छन् ।

खेलको विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, वडाध्यक्ष खगेन्द्र राई, आयोजक खाल्साथुम छिन्ताङ युवा क्लबका अध्यक्ष अनिश पुमा राई लगायतले पुरस्कार प्रदान गरेका छन् ।

यसैबीच, कार्यक्रमलाई सम्बोधन गर्दै सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले खेलकुद क्षेत्रको विकासका लागि सहिदभूमि गाउँपालिकाले सक्दो प्रयास गरिरहेको बताए । खेलकुद क्षेत्रको विकास र खेलाडीहरूलाई प्रोत्साहनका लागि पालिकाले सहयोग गरिरहेको भन्दै उनले यसलाई निरन्तरता दिइने धारणा राखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement