संगालोखबर सम्वाददाता


काठमाडौं ।
धनकुटाबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री राजेन्द्र कुमार राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद राईले गृहमन्त्री श्रेष्ठकै अगाडि उनको राजीनामा मागेका हुन् ।

प्रहरीको बल प्रयोग र गोली प्रहारबाट दुई युवाको मृत्यु हुनेगरि भएको ललितपुरको बालकुमारी घटनामा गृहमन्त्रीको कमजोरी देखिएको भन्दै सांसद राईले उनलाई तत्काल राजीनामा दिन सुझाव दिए । ‘अब यसो गरौँ मन्त्री ज्यू तपाईंले खुरुक्क राजीनामा दिनुस् । सबै भन्दा राम्रो कुरा तपाई राजीनामा दिनुस् । राजीनामा दिनै पर्यो नि !,’ बैठकमा गृहमन्त्रीलाई सांसद राईले भने, ‘विदेश गएर काम गरेर खान्छु भन्नेलाई ताकी ताकी गोली हाल्ने तपाईँले राजीनामा नदिए कसले दिन्छ ?’

Advertisement

छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको तर्क छ । ‘तपाईंले राजीनामा दिएपछि मात्रै छानबिन समितिले राम्रोसँग काम गर्न सक्छ । समस्या सिर्जना भएपछि सरकारले गम्भीर ढंगबाट समाधान गर्नुपर्छ कि सरकारले गोली हान्नु पर्छ ? ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ ? रोजगारका लागि विदेश जान पाउनु पर्छ भनेर भन्नेलाई मार्न मिल्छ ?’ सांसद राईले भने ।

बैठकमा गृहमन्त्री श्रेष्ठले घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गरेका छन् । फिल्डमा खटिएका प्रहरीको कमान्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिका त्रुटिपूर्ण भएकाले घटना भएको उनको ठम्याई छ ।

कोरिया जाने भाषा परीक्षा दिन नपाएको विषयमा आक्रोशित युवाहरूले केही दिन अघि ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका थिए । सो क्रममा प्रहरीले बल प्रयोग गरेर गोली चलाउँदा दुई युवाको मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!