संगालोखबर सम्वाददाता

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ४२ दिनको नवजात शिशुको हर्नियाको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरिएको छ । चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलका बसन्त खड्काको नवजात छोराको शल्यक्रिया गरिएको हो ।

Advertisement

जन्मजात हर्निया भएको शिशुको मिनिमल एसेस सर्जरी प्रविधिबाट सफलतापूर्वक शल्यक्रिया गरिएको केएमसीका बाल रोेग विशेषज्ञ डाक्टर आशिषलाल श्रेष्ठले बताए । ‘शिशुको जन्मजात दुवैतर्फ हर्निया थियो । सानो बच्चाको शल्यक्रिया गर्न निकै जोखिम हुन्छ । तर, हामीसँग भएको अत्याधुनिक मिनिमल एसेस सर्जरी प्रविधिबाट सफलतापूर्वक अप्रेसन गरेका छौं,’ डा. श्रेष्ठले भने, ‘बच्चाको नाइटोको छेउमा ३ एमएमको २ वटा प्वाल पारेर अप्रेसन गरेका छौं । अहिले बच्चाको अवस्था एकदम ठिक छ ।’

बच्चा लगातार रोइराखेपछि अस्पताल ल्याइएको थियो । अस्पतालमा परीक्षण गर्दा हर्निया भएको देखिएपछि शल्यक्रिया गरिएको हो । अप्रेसन सफल भएपछि बिरामीका आफन्त खुशी छन् । ४२ दिनको सानो बच्चाको अप्रेसन गर्न समस्या होला भन्ने चिन्ता लागेको भएपनि अहिले बच्चा ठिक भएकाले धेरै खुशी लागेको वुवा बसन्तले बताए ।

हाल केएमसीमा धेरै अप्रेसनहरू ल्याप्रोस्कोपी विधिबाट गर्ने गरिएको छ । फियो निकाल्ने, पित्तथैलीको अप्रेसन, किड्नीको पत्थरीको अप्रेसन पनि ल्याप्रोस्कोपी प्रविधिबाटै गरिन्छ ।

चिरेर गरिने अप्रेसनभन्दा ल्याप्रोस्कोपी विधिबाट गरिने अप्रेसन बिरामीका लागि निकै लाभदायी हुने चिकित्सकहरू बताउँछन् । ल्याप्रोस्कोपी विधिबाट अप्रेसन गर्दा घाउ सानो हुने, चाँडै निको हुने, अप्रेसन गरेको छोटो समयमै बिरामी डिस्चार्ज हुने, चाँडै हिँडडुल गर्न सकिने भएकाले सहज मानिन्छ ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको टिम भएकाले केएमसीमा जटिल शल्यक्रियाहरु पनि सफलतापूर्वक गरिदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!