संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिका–१३ रानीका १४ वर्षीय कुन्दनकुमार महतो शारीरिक रुपमा अशक्त छन् । उनलाई स्कुल जान मन छ तर अरुको सहाराबिना हिँडडुल गर्न सक्दैनन् । अहिले उनी तीन चक्के बैशाखीको सहारामा हरेक दिन बेलुका स्थानीय ज्योति महतोको घर पुग्छन् र निःशुल्क ट्युसन पढेर फर्कन्छन् ।

Advertisement

निःशुल्क ट्युसन पढ्न थालेपछि कुन्दनलाई स्कुल जाने आट आएको छ । भन्छन्, ‘अब सरस्वती पूजामा स्कुलमा नाम लेखाउने, अनि स्कुल जाने ।’ रानीको महतो टोलमा ज्योतिले ट्युसन पढाउन थालेको सात महिना भयो । जीवन विकास लघुवित्त वित्तीय संस्थाले निःशुल्क ट्युसन सेन्टर खोलेर महतोलाई शिक्षक नियुक्त गरेपछि टोलका विपन्न परिवारका बालबालिका भेला गरेर पढाउँन थालेकी हुन् । उनीसँग ४२ जना बालबालिका ट्युसन पढिरहेका छन् ।

विराटनगर १४ मा लक्ष्मण ठाकुर र विराटनगर १८ मा अमृताकुमारी साहले जीवन विकास लघुवित्त मार्फत ट्युसन पढाइरहेका छन् । विराटनगरमा मात्र नभई, लघुवित्तले ४४ वटा स्थानीय तहका ६० स्थानमा ट्युसन सेन्टर खोलेको छ, सेन्टरमा २ हजार ३२ विपन्न परिवारका बालबालिका निःशुल्क पढिरहेका छन् । जसमा १ हजार ७४ छात्र र ९८४ छात्रा छन् ।

बालबालिकाको गुणस्तरीय शिक्षाको अभियानमा सहयोग गर्ने उद्देश्यले संस्थाले निःशुल्क ट्युसन सेन्टर सञ्चालन गरेको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल बताउँछन् । ‘सहरबजारका सम्पन्न परिवारका बालबालिका सुविधा सम्पन्न विद्यालय जान्छन्, बिहान बेलुका बाबुआमाले आफ्ना छोराछोरीले गृहकार्य गरे नगरेको हेर्छन् र गराउँछन्,’ मण्डल भन्छन्, ‘विपन्न परिवारलाई दैनिक गुजाराको बन्दोबस्त जुटाउँदै ठिक्क हुन्छ, अधिकांशले बच्चाका बारेमा चासो लिएर गृहकार्य गराउने र सिकाइ कस्तो छ भनेर मापन गर्न सक्दैनन् पनि ।’

उनका अनुसार जीवन विकास लघुवित्तले करिब तीन वर्षअघि मोरङको डाइनिया निःशुल्क ट्युसन सेन्टर स्थापना गरेको थियो । ट्युसन सेन्टरका बारेमा प्रतिक्रिया राम्रो आएपछि अन्यत्र विस्तार गरिएको हो । ट्युसन पढाउनका लागि प्रत्येक सेन्टरमा एक जना शिक्षक तोकिएका छन् । उनीहरूले रोजगारी पनि पाएका छन् । एउटा सेन्टरमा न्यूनतम १५ देखि ४५ जनासम्म बालबालिका पढ्छन् । ती विद्यार्थीलाई आवश्यकताका आधारमा जीवन विकासले शैक्षिक सामाग्री पनि उपलब्ध गराइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!