रबिन कटेल/संगालोखबर

धनकुटा । घरमा आगो लगाउनेलाई कारबाही गर्न माग गर्दै धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँले आज जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । ज्यान मार्ने मनसायले ढोका थुनेर घरमा आगो लगाइएको भन्दै वडाध्यक्ष गुरागाईँले स्थानीय एक युवाविरुद्ध प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् ।

Advertisement

शनिवार राती वडाध्यक्ष दम्पती घरको माथिल्लो तलामा सुतिरहेका बेला बाहिरबाट ताला लगाएर उनको घरमा आगो लगाइएको थियो । घरको तल्लो तलामा रहेका कपडाहरुसहित दुई वटा ग्यास सिलिन्डर एकै ठाउँमा भेला गरी आगो लगाइएको भएपनि आगो चाँडै नियन्त्रणमा लिइएकाले सिलिन्डर विस्फोट हुनबाट जोगियो । कपडासहित तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भए । घरमा आगो लागिरहेका बेला छिमेकीलाई बोलाएर झ्यालमा भर्याङ लगाई बाहिर निस्किएकाले वडाध्यक्ष दम्पतीको ज्यान जोगिएको थियो ।

डाँडाखर्क घर भएका गुरागाईँ नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । कांग्रेसका जिल्ला सचिव विजयसन्तोषी राई, पाख्रिबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङसहितको टोलीसँग जिल्ला प्रहरी कार्यालय पुगेर उनले जाहेरी दर्ता गराएका हुन् ।

आफूलाई सिध्याउने नियतले आगो लगाएको पाइएकाले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेको वडाध्यक्ष गुरागाईँले बताए । ‘यस्तो जघन्य अपराध गर्नेलाई कारबाही गर्न माग गर्दै उजुरी दिएको छु,’ वडाध्यक्ष गुरागाईँले संगालोखबरसँग भने ‘यो विषयमा प्रहरीले अनुसन्धान गर्दैछ, दोषी उम्किन पाउँदैन भन्ने लागेको छ ।’

२० वर्षीय युवामाथि अनुसन्धान केन्द्रित

आगजनी घटनापछि प्रहरीले स्थानीय एक युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न भएको आशङ्कामा स्थानीय २० वर्षीय सुशील अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको धनकुटाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

आगजनीको आरोपमा उनीविरुद्ध प्रहरीले मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । पाख्रिबास नगरपालिका-२ सान्ने स्थायी घर भएका अधिकारी डाँडाखर्कस्थित मावली घर नजिक अस्थायी घर बनाएर आमासँग बस्दै आएका थिए । स्रोतका अनुसार उनलाई यसअघि चोरीमा संलग्न भएको आरोपमा पनि प्रहरीले पक्राउ गरेको थियो ।

आगजनी घटनामा पनि प्रहरी अनुसन्धान उनै माथि केन्द्रित छ । यद्यपि घटनामा उनको संलग्नता भए/नभएको यकिन हुन बाँकी छ । घटनाको कारण पनि खुल्न बाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!