रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटाको राजारानीमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपमा झापाको दुधे भेट्रान क्लब र विराटनगरको विराट मेगा भेट्रान क्लबले विजयी सुरुवात गरेका छन् ।

Advertisement

राजारानी खेल मैदानमा सोमबार भएको उद्घाटन खेलमा हाम्रो धरान भेट्रान क्लबलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै दुधे भेट्रान सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

यता, आयोजक रारा भेट्रान राजारानीलाई ट्राइबेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै विराटनगरको विराट मेगा भेट्रानले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा एक/एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत खेल टुंग्याइएको थियो ।

प्रतियोगितामा मंगलबार पनि दुई खेल हुँदै छन् । हाम्रो इटहरी भेट्रान र लखनपुर भेट्रान दमकबीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा भारत सिक्किमको बेर्मिओक नाम्फिङ भेट्रान क्लब र एभरेष्ट भेट्रान मोरङ आम्नेसाम्ने हुँदै छन् ।

स्व.जान बहादुर तथा बुद्धिमाया लिम्बूको स्मृतिमा रारा भेट्रान राजारानीले पहिलो पटक राजारानीमा भेट्रान गोल्डकप आयोजना गरेको हो । चार दिनसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका आठ टिमबीच उपाधिका लागि प्रतिष्पर्धा हुदैछ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

खेलकुद क्षेत्रको विकासका लागि सक्दो सहयोग गछौँ: अध्यक्ष चेम्जोङ

प्रतियोगिता उद्घाटन गर्दै चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए । खेलकुद क्षेत्रको विकासका लागि पालिकाले सहयोग गरिरहेको भन्दै उनले यसलाई निरन्तरता दिइने धारणा राखे ।

देशमै ख्याति कमाउँन सफल खेलाडीहरू राजारानीले उत्पादन गरेको उदाहरण दिदैँ उनले खेलकुद क्षेत्रमा राजारानीले आफ्नो बेग्लै पहिचान स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरे ।

राजारानीमा फुटबल प्रतियोगितासँगै फुड फेस्टिभल तथा सांस्कृतिक साँझ पनि आयोजना गरिएको छ ।

तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement