संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिकाकी उपप्रमुख भिमादेवी खनालले पर्यटन प्रवर्द्धन गरेर धनकुटालाई समृद्ध बनाउँन सकिने सम्भावना औंल्याएकी छन् । होटल एशोसिएसनले धनकुटामा आयोजना गरेको आन्तरिक पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख खनालले यस्तो बताएकी हुन् ।

Advertisement

पोखरा, सिक्किम लगायत ठाउँ पर्यटनकै माध्यमबाट समृद्ध बनेको उदाहरण दिदैँ उपप्रमुख खनालले धनकुटामा पनि यसको सम्भावना रहेको उल्लेख गरिन् । धनकुटा प्रकृतिको अनुपम उपहारको रुपमा रहेको भन्दै उपप्रमुख खनालले यसलाई पर्यटनका माध्यमबाट प्रवर्द्धन गर्नुपर्ने खाँचो औँल्याइन् ।

धनकुटा नगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने प्रयास गरिरहेको भन्दै उनले पर्यटन प्रवर्द्धनका लागि प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्ने धारणा राखिन् । ‘धनकुटा प्राकृतिक हिसाबले रमणीय ठाउँ छ, यहाँ पर्यटन प्रवर्द्धन गर्नका लागि नगरपालिकाले प्रयास गरिरहेको छ,’ उपप्रमुख खनालले भनिन्, ‘पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारले मात्र गरेर हुदैन, प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्छ, व्यवसायीहरूले पनि साथ दिनुपर्छ ।’

पर्यटन प्रवर्द्धनका लागि होटल व्यवसायी, पर्यटन व्यवसायीहरू पनि अग्रसर हुनुपर्ने उनले बताइन् । धनकुटा नगरपालिकाले होटल व्यवसाय, होमस्टे लगायतलाई नीतिगत र वार्षिक बजेटकै माध्यमबाट पनि सहयोग गरिरहेको भन्दै उनले पर्यटनको विकासका लागि निजी क्षेत्रले पनि अग्रसरता देखाउनुपर्ने धारणा राखिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!