संगालोखबर सम्बाददाता

धनकुटा । पोखराका होटल व्यवसायीहरू पर्यटक बोलाउन धनकुटा आइपुगेका छन् । ‘जाउँ है पोखरा’ नाम दिइएको आन्तरिक पर्यटन प्रवर्द्धन अभियान लिएर पूर्वी नेपालको यात्रामा निस्किएका उनीहरु धनकुटेलीलाई पोखरा घुम्न निम्तो दिन आएका हुन् ।

Advertisement

उनीहरूले आन्तरिक पर्यटन प्रवर्द्धन अभियानका विषयमा धनकुटामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । होटल व्यवसायी, सञ्चारकर्मी लगायत सहभागि कार्यक्रममा पोखराका पर्यटकीय गन्तव्यहरू समेटिएको भिडियो सामग्री प्रस्तुत गरियो । कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी र पोखरा पर्यटन परिषद्का अध्यक्ष ओमनारायण श्रेष्ठले पोखरा घुम्न आउँन धनकुटाबासीलाई निम्तो गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले पर्यटकीय दृष्टिले पोखरा निकै अघि बढिसकेको भन्दै धनकुटाका पर्यटकीय क्षेत्रलाई पनि त्यस्तै किसिमले अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । धनकुटा नगरपालिकाकी उपप्रमुख भीमा खनालले पर्यटन प्रवर्द्धन गर्नसके धनकुटालाई पनि समृद्ध बनाउँन सकिने धारणा राखिन् ।

पोखराका होटल व्यवसायीहरूले यसअघि विराटनगर, इटहरी, बिर्तामोड र जनकपुरमा पनि कार्यक्रम गरेर त्यहाँका नागरिकलाई पोखरा घुम्न आउँन निम्तो दिएका थिए ।

पोखरामा करिब १२ सय होटल सञ्चालनमा छन् । त्यहाँका होटलमा एकैदिन झण्डै ४० हजार पर्यटकलाई आवास सुविधा दिन सक्ने क्षमता छ । होटल व्यवसायमा मात्रै ५ खर्ब लगानी गरिएको पोखरामा १५ हजार जनाले होटलमा रोजगारी पाएका छन् ।

नेपालका विभिन्न जिल्लासहित विदेशबाट पनि ठूलो सङ्ख्यामा पर्यटकहरू पोखरामा घुम्न जाने गरेका छन् । फेवा तालमा डुंगा शयर, सराङकोटको डाँडाबाट प्याराग्लाइडिङ, गुफा, झरना र हिमशृङ्खलाको अवलोकनसहित मनमोहन वातावरणका कारण पोखरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!