संगालोखबर सम्बाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलिया नदीको तटबन्ध निर्माण र सौन्दर्यीकरणको कामलाई प्रदेश सरकारले प्राथमिकता दिने बताएका छन् । आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

Advertisement

विराटनगर बजार पश्चिम रहेको नदीको तटबन्धका साथै सौन्दर्यीकरणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने तथा संघ र स्थानीय सरकारबीच समन्वय गरी नमुना एकीकृत योजना निर्माण गरिने मुख्यमन्त्री कार्कीको भनाई छ ।

विराटनगर महानगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका र बर्जू गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा नदीले छोएका वडाका वडाध्यक्षसहित स्विस सरकारका प्रतिनिधिहरूसँग वृहत् छलफल भएको हो । स्विस सरकारको सहयोगमा केशलिया तटबन्ध निर्माण तथा सौन्दर्यीकरणको प्रकृया अघि बढेको छ । मुख्यमन्त्री कार्कीले नदी क्षेत्रको सौन्दर्यीकरण गर्न सके आर्थिक लाभ लिन सकिने धारणा राखे ।

कार्यक्रममा स्विस सरकारका परामर्शदाता महेन्द्र सुब्बाले अहिलेसम्म भएका काम र बाँकी काम सम्पन्न गर्न आइपर्ने चुनौतीका बारेमा जानकारी गराए । उनले केशलीया कोरिडोरलाई अगाडि बढाउन प्रदेश सरकारले देखाएको चासो र स्थानीय सरकारहरूले देखाएको उत्साहले उल्लेख्य परिणाम ल्याउने विश्वास व्यक्त गरे ।

विराटनगर महानगरपालिकाका ४, ५, ६, ११, १२, १६ वडालाई छुँदै केशलिया नदी दक्षिणतर्फ बगेको छ । बुढीगंगा गाउँपालिकाका २, ३, ४, बर्जू गाउँपालिकाका १, २, ३ लाई पनि केशलिया नदीले छोएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!