संगालोखबर सम्बाददाता

धनकुटा । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारको कामले गति लिन नसकेको स्वीकार गरेका छन् । आज धनकुटामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री लिम्बुले सरकारको कामले रफ्तार लिन नसकेको बताएका हुन् ।

Advertisement

मन्त्री लिम्बुले सरकार कछुवा गतिले अघि बढिरहेको बताए । ‘कछुवाको तालमा हिड्या जस्तो लाग्छ सरकार, आफैलाई पनि त्यस्तो फिल भाछ,’ मन्त्री लिम्बुले भने । गठबन्धन सरकार भएकाले सोचे अनरुप गति लिन नसकेको मन्त्री लिम्बुको बुझाई छ ।

कांग्रेस एक्लैले सरकार चलाउन सक्ने अवस्था नरहेकाले गठबन्धन सरकार बनेको भन्दै मन्त्री लिम्बुले धेरै दलको भावनालाई समेटेर काम गर्नुपर्दा अफ्ठेरो भएको बताए । अहिले चाडपर्वको बिदा धेरै भएकाले पनि सरकारको काम उल्लेखनीय नदेखिएको उनको भनाई छ ।

सरकारको कामले गति लिन नसकेपछि रफ्तार दिनका लागि मन्त्रिपरिषद्मा पनि छलफल भएको मन्त्री लिम्बुले जानकारी दिए । उनले भने, ‘सरकारको कामलाई गति दिनुपर्छ भनेर मन्त्रिपरिषद्मा पनि छलफल भएको छ, पार्टीका हाम्रा नेताहरूलाई पनि अलिक राम्रोसँग गाइड गर्दिनुपर्यो भनेर अनुरोध गरेका छौं ।’

फरक प्रसङ्गमा उनले नेतृत्वले कार्यकर्ताको भावना नबुझेकाले कोशी प्रदेशमा विद्रोह गरेर केदार कार्कीको नेतृत्वमा सरकार बन्नु परेको बताए ।

कांग्रेस मोरङ सभापतिसमेत रहेका लिम्बुले कांग्रेस नेतृत्वको सल्लाह बमोजिम नै अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पनि प्रदेश सरकारमा सहभागि गराइएको जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!