संगालोखबर सम्बाददाता

काठमाडौं । कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराती ६.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । ९७ जना घाइते भएका छन् । राती ११ः४७ बजे जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Advertisement

भूकम्पको धक्का नेपालभर महसुस भएको छ । भारतको नयाँदिल्लीमा पनि भूकम्पको धक्का महसुस भएको बताइएको छ । भूकम्पले जाजरकोट र सिमाना जोडिएको जिल्ला रुकुम पश्चिममा बढी क्षति पुर्याएको छ ।

बिहान ५ बजेसम्म संकलन भएको विवरण अनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको पुष्टि भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको ज्यान गएको छ । घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि बिभिन्न अस्पतालमा पठाइएको छ ।

विवरण संकलन भइरहेकाले क्षतिको विवरण थप बढ्ने प्रहरीले जनाएको छ । भूकम्पका कारण केही क्षेत्रहरूमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!