संगालोखबर सम्बाददाता

विराटनगर । विराट हेल्थ कलेजमा अध्ययनरत छात्रामाथि सामूहिक बलात्कारको घटनामा कराँतेका प्रशिक्षकद्वय अमर सुवेदी र विनोद राउत दोषी ठहर भएका छन् । जिल्ला अदालत मोरङले विराटनगर महानगरपालिका–४ का सुवेदी र विराटनगर–३ का राउतलाई जबरजस्ती करणी मुद्दामा कसुरदार ठहर गरेको हो ।

Advertisement

न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले उनीहरूलाई बुधबार कसुरदार ठहर गरेको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए । अदालतले दोषी ठहर गरेपछि सुवेदी र राउतले छात्रामाथि सामूहिक बलात्कार गरेको पुष्टि भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का स्थायी प्रशिक्षक उनीहरूले विराटनगरको एउटा होटलमा लगेर २०७९ जेठ अन्तिम साता आफूलाई बलात्कार गरेको भनेर ती छात्राले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरीपछि २०७९ साउन ८ गते उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

छात्रालाई नसालु पदार्थ सेवन गराएर दुवै जनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बलात्कारमा दोषी ठहर भएका सुवेदी, छात्रा अध्ययनरत कलेजका अनुशासन इन्चार्ज थिए । परीक्षामा सहयोग गर्ने आश्वासन दिएर नजिकिएका उनले बारम्बार बलात्कार गरेको खुलेको छ । सुवेदीले २०७९ जेठ अन्तिम साता छात्रालाई होटलमा लगेको र आफ्ना नजिकका साथी राउतलाई समेत बोलाएपछि दुवै जनाले सामूहिक बलात्कार गरेको बताइएको छ ।

जबरजस्ती करणी मुद्दामा सुवेदी र राउत दोषी ठहर भएपनि उनीहरूलाई हुने कैद सजाय निर्धारण गर्न बाँकी छ । कात्तिक २२ गते सजाय निर्धारणको समय तोकिएको छ । फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम ३ वर्ष भन्दामाथि कैद सजाय हुने मुद्दामा कसूर कायम र सजाय निर्धारण छुट्टाछुट्टै गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!