संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिका–११ पिचरास्थित पशुपति ज्वेलर्सबाट ठूलो परिमाणमा अवैध गरगहना र सामग्री बरामद भएको छ । सरकारी टोलीले बिहीबार दिउँसो छापा हान्दा सुनचाँदीबाट बनेका अवैध सामग्री र गरगहना बरामद भएको हो ।

Advertisement

भारतबाट भन्सार छली गरेर ल्याइएका सुनचाँदीका गहना एवं सामग्री बिक्री गर्ने गरेको गोप्य सूचना पाएपछि प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले छापा हानेको हो । 

चाँदीबाट बनेका पाउजु, ब्रास्लेट, औंठी, दियो, लोहोटा, मूर्ति, टीकादानीलगायत सामग्री एवं गरगहना बरामद भएको टोलीले जनाएको छ । सुनका केही गहना पनि बरामद भएका छन् । करिब १५ देखि २० किलो बराबरको सामग्री बरामद भएको अनुमान गरिएपनि परिणाम यकिन हुन बाँकी छ । 

बट्टासहितको सामग्रीले ५ वटा बोरा भरिएको र तौल लिएपछि परिणाम यकिन हुने टोलीमा सहभागि एक प्रतिनिधिले जानकारी दिए । बरामद सामान अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा लगिएको छ । पसलमा छापा हान्दा बिल बीजक फेला नपरेपछि चाँदी तथा सुनका सामग्री र गरगहना बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चाँदी तथा सुनबाट बनेका सामग्रीको बिल देखाउन नसकेपछि ज्वेलर्सका सञ्चालक विश्वजीत जानालाई पनि पक्राउ गरिएको छ । 

जानाले भारतबाट भन्सार छली गरेर तयारी गहना नेपाल ल्याउँदै आफ्नो ज्वेलर्समा राख्ने र विराटनगर, इनरुवा, धरान, इटहरी, विराटचोक, उर्लाबारी, दमक, बिर्तामोडलगायत पूर्वका विभिन्न सहरमा ‘सप्लाई’ गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्रोतका अनुसार उनको ज्वेलर्सबाट सबैभन्दा बढी सुनचाँदीका तयारी मालवस्तु विराटनगरका विभिन्न पसलमा पुग्ने गरेको थियो । जानाको ज्वेलर्समा छापा हान्नेवित्तिकै विराटनगरका केही ज्वेलर्स सञ्चालकहरू आफ्नो पसल बन्द गरेर भागेको बताइएको छ । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!