संगालोखबर सम्बाददाता

उदयपुर । अध्ययनको सिलसिलामा सुनसरीको धरान बस्दै आएका समीर खड्का घरका भित्तामा कमेरो छ्याप्न तल्लीन थिए । उदयपुर ताप्ली गाउँपालिका–५ कटहरेस्थित आफ्ना दुई घरका पर्खालको माथिल्लो भागमा समीरले कमेरो छ्यापे ।

Advertisement

घर रङ्ग्याउने काममा समीरलाई बहिनी सुरक्षाले सघाउँदै थिइन् । पर्खालको तल्लो भागमा सुरक्षाले रातोमाटो पोतिन् । बाबियोबाट बनेको कुचोले समीरले कमेरो छ्याप्दा झुम्रोको सहायतामा सुरक्षाले रातोमाटो लगाइन् । दिनभरिको समय खर्चिएर उनीहरूले घर चिटिक्क बनाउँदै दसैँलाई निम्तो दिए । घरको साजसज्जामा उनीहरूको अथक मिहिनेत प्रष्टियो पनि । उनीहरूमात्र होइन, कटहरेमा माटो र ढुङ्गाबाट बनेका एक सयभन्दा धेरै घर छन्, जहाँ अझै पनि रातोमाटो र कमेरो पोतेर दसैं डाक्ने गरिन्छ ।

‘वर्षौंयता हामीले दसैंछेक टाढा–टाढा पुगेर ल्याएको रातोमाटो र कमेरोले घर रङ्ग्याएर दसैँ डाक्ने गरेका छौं, त्यो परम्परालाई अझै पनि कायम राख्न लागिपरेका छौं,’ समीर भन्छन्, ‘हाम्रो गाउँतिर पक्की घर कमै छन्, यहाँ अझै पनि रातोमाटो र कमेरोले घर सजिन्छन् ।’

रातोमाटो र कमेरो किन्नु पर्दैन । केही घण्टाको दूरीमा पाइने कमेरो र रातोमाटो दसैँ नजिकिएसँगै ल्याइन्छ । घरका आँगन र दलान अरूबेला पनि लिपपोत हुन्छ । तर, घरका भित्तो भने दसैँछेक मात्र पोत्ने चलन यतातिर छ । घरका झ्याल–ढोका र चौकट पनि कालोमाटो ल्याएर पोत्ने गरेको सुरक्षा बताउँछिन् ।

‘पहिले–पहिले पुराना ब्याट्री फुटाएर त्यसको कालो पोत्ने चलन थियो, अहिले विजुली आएकाले ब्याट्रीको चलन हरायो,’ उनी भन्छिन्, ‘यसैले कालोमाटो सङ्कलन गरेर झ्याल–ढोका लिपपोत गर्छौं । इनामेल र कलरपेन्टको चलन यता खासै छैन ।’

यस गाउँमा अझै पनि दसैँका बेला रातोमाटो र कमेरोले घर लिपपोत गरेपछि मात्रै जमरा राख्ने चलन रहेको स्थानीय वृद्ध सिंहबहादुर खड्का बताउँछन् । उनी भन्छन्, ‘यहाँभन्दा पर, करिब तीन घण्टा ओरालो लागेपछि कमेरो पाइन्छ, रातोमाटोका लागि भने दुई घण्टा उकालो चढ्नुपर्छ । त्यै पनि यहाँका स्थानीय झर्को मान्दैनन्, कलरपेन्ट पाउँदापाउँदै पनि कमेरो र रातोमाटो प्रयोग गरेर संस्कृति जोगाउने काम सबैले गरेका छन् ।’

दसैँछेक यहाँ घर–गोठमात्र होइन विद्यालयहरू पनि पोतिन्छन्, जसमा कमेरो र रातोमाटोकै प्रयोग हुने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!