संगालोखबर सम्बाददाता
तस्वीर सौजन्य : कोकिला भण्डारी

धनकुटा । धनकुटाको हिलेस्थित उज्यालो सामुदायिक पोलिक्लिनिकमा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले पोलिक्लिनिक तोडफोड गरेका छन् । ग्यास्टिकको समस्या भएर उपचारका लागि आएकी सहिदभूमि गाउँपालिका-६ भरिबण्डेकी ५३ वर्षीया विष्णुकुमारी राईको मृत्यु भएपछि आक्रोशित आफन्तले पोलिक्लिनिकमा ढुंगामुढा गरेका हुन् ।

ढुंगा प्रहारबाट पोलिक्लिनिकको अगाडिको सिसा फुटेको छ । ग्यास्टिकको समस्याले सताएपछि राई उपचारका लागि पोलिक्लिनिक आएकी थिइन् । पोलिक्लिनिकमा उनको स्वास्थ्य परीक्षण गरी सुई लगाइयो । सुई लगाएको करिब १० मिनेटमै बिरामीको मृत्यु भएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए ।

Advertisement

उनका अनुसार ग्यास्टिकले सताएपछि हिलेसम्म गाडीमा गएर उनी हिँड्दै पोलिक्लिनिक पुगेकी थिइन् । त्यहाँ परीक्षण गर्दा केही समस्या नदेखिएपछि स्वास्थ्यकर्मीले इन्जेक्सन लगाइदिए । इन्जेक्सन लगाएर हिँड्दै गुम्बा नजिक आइपुगेकी उनी त्यही लडेकी थिइन् । उनलाई पुनः पोलिक्लिनिक पुर्याइएको भएपनि केही समयमै उनको मृत्यु भएको मृतकका आफन्तको भनाई उद्धृत गर्दै गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।

‘हिँड्दै आएको मान्छेलाई इन्जेक्सन लगाएको १० मिनेटमै मृत्यु भएछ, इन्जेक्सन लगाएको हात पनि सुनिएको छ,’ अध्यक्ष राईले संगालोखबरसँग भने, ‘के भएर यस्तो भयो भन्ने यकिन कारण त पछि पत्ता लाग्ला तर, यसो हेर्दा इन्जेक्सन लगाउँने क्रममा लापरबाही भएर मृत्यु भएको हो कि जस्तो देखिन्छ ।’

अहिले मृतकको शव पोलिक्लिनिकमै छ । घटनापछि त्यहाँ प्रहरी परिचालन गरिएको छ । पोलिक्लिनिक सञ्चालक र मृतकका आफन्तबीच छलफल गराएर समस्या समाधानको प्रयास भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!