संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा पूर्व प्रहरीले दिउँसै लुटपाट गरेका छन् । विराटनगर महानगरपालिका–१२ रानीका रविकुमार साह सुडीको साथबाट पूर्व प्रहरीले नै १२ लाख नगद लुटेका हुन् । लुटपाटमा संलग्न विराटनगर–१ पानीट्यांकीका ३८ वर्षीय दीपक तामाङ र विराटनगर–४ खारजीका ३६ वर्षीय सुनील थापालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तामाङ र थापा दुवै जना पूर्व प्रहरी रहेको अनुसन्धानका क्रममा खुलेको छ ।

Advertisement

घटना गत सोमबार दिउँसो करिब १२ बजेको हो । साह मोटरसाइकलमा रानीबाट विराटनगर बजार आउँदै थिए । शाहलाई पिछा गर्दै बा ६७ प २५०४ नम्बरको बुलेट मोटरसाइकलमा आएका तामाङ र थापाले उनको साथमा भएको नगदसहितको झोला लुटेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । ‘रानीबाट आउँदै गरेका साहलाई पिछा गर्दै आएका उनीहरूले रोडशेष चोकमा रोकेर हामी प्रहरी हौं, प्रहरी कार्यालय हिँड भन्दै हनुमान मन्दिर छेउ लगेर लुटपाट गरेर भागेछन्,’ डीएसपी दाहालले संगालोखबरसँग भने, ‘घटनाको जानकारी पाएपछि प्रहरी टोली परिचालन गरेर तामाङलाई हिजो दिउँसो र थापालाई आज बिहान पक्राउ गरेका छौं ।’

रोडशेष चोकमा साहलाई रोकी उनको मोटरसाइकलको पछाडि एक जना चढेर हनुमान मन्दिर परिसर पुर्याएका थिए । अर्को जना आफ्नै मोटरसाइकलमा सँगै गएको सीसीटीभी फुटेजमा देखिएको छ ।

हनुमान मन्दिर परिसरमा पुर्याएपछि साहलाई धाक, धम्की दिएर नगदसहितको झोला, बैंकको चेकबुक, विभिन्न बैंकका ३ वटा एटीएम कार्ड, नागरिकता, मोबाइल र मोटरसाइकलको ब्लुबुक लुटपाट गरेर उनीहरु फरार भएका हुन् । पीडित साहले बिमामा तिर्न र बैंकमा जम्मा गर्न लगेको पैसा लुटिएको बताएपछि परिचालन भएको प्रहरी टोलीले लुटपाटमा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।

लुटपाट गरिएकोमध्ये ५ लाख ६५ हजार रुपैयाँ तामाङको घरको दराजमा फेला परेको छ । साहको नागरिकता, पैसाको झोला, चेकबुक, एटीएम कार्ड, ब्लुबुक पनि भेटिएको छ । खानतलासी गर्दा थापाको घरबाट ३ लाख नगद बरामद भएको छ । 

प्रहरी सेवामा हुँदा लागूऔषध सेवन गर्ने लगायत बिभिन्न गतिविधिका कारण पटक-पटक कारबाहीमा परेर उनीहरूले जागिर छोडेको पाइएको छ ।

लुटपाटमा संलग्न उनीहरूको आपराधिक गतिविधिका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!