संगालोखबर सम्वाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पदबाट राजीनामा दिएका छन् । आज दिउँसो बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

Advertisement

एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री भएको एक महिना भएको छ । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान भएकाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको थियो । तर, प्रदेश सभाबाट विश्वासको मत पाउने सम्भावना नदेखिएपछि मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा घोषणा गर्दै उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा मिलिजुली सरकार बनाउनु अन्तिम विकल्प भएको धारणा राखेका छन् । मध्यावधि निर्वाचन जनताले नचाहेको भन्दै उनले मध्यावधि निर्वाचनबाट जोगाउँन एमाले लचकता अपनाएर अघि बढ्न तयार रहेको उल्लेख गरे । अरु सबै दल मिलेर सरकार चलाउने भए एमाले सँधै प्रतिपक्षमा बस्न पनि तयार रहेको उनको भनाई छ ।

मुख्यमन्त्री कार्कीले राजीनामा दिएसँगै प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । अब, संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार बनाउने बाटो खुलेको छ । जस अनुसार प्रदेशसभामा बहुमत जुटाउन सक्ने सांसदले बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री दावी गर्न सक्नेछन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका छ, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!