संगालोखबर सम्वाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज १९ गते विश्वासको मत लिने तयारी गरेका छन् । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत  लिने विषयमा छलफल भएको छ ।

Advertisement

छलफलमा मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने समझदारी भएको कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद भीम पराजुलीले जानकारी दिए । सर्वोच्च अदालतको परमादेशपछि मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ । तर, २० गते शनिबार परेकोले अघिल्लै दिन विश्वासको मत लिने समझदारी भएको नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । ‘शनिबार बैठक राख्ने/नराख्ने भन्ने टुङ्गो छैन, यसले अघिल्लो दिन नै विश्वासको मत लिन सकिन्छ,’ उनले भने, ‘तथापि, २० गतेसम्म समय रहेकोले सोही दिन पनि बैठक राखेर मत लिने हुनसक्छ ।’

संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने ठुलो दलको हैसियतमा कार्की भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् । त्यसअघि धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा गत पुस २४ गते उनी पहिलोपटक मुख्यमन्त्री बनेका थिए । एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका सांसदहरूको समर्थनमा कार्की कोशी प्रदेशको चौथो मुख्यमन्त्री बनेका थिए ।

तर, राष्ट्रपति निर्वाचनताका सङ्घमा फेरिएको राजनीतिक समीकरणका कारण सहयात्री दल माओवादी केन्द्र र जसपाले साथ छोडेपछि कार्की अल्पमतमा परे । प्रदेशसभाबाट विश्वासको मत पाउन असफल बनेपछि असार १५ मा उनी पदमुक्त भए । यसपछि कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा संलग्न सत्तारूढ गठबन्धनले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाएको थियो ।

प्रमुख प्रतिपक्षी एमालेले रिट हालेपछि सर्वोच्चले ‘करेक्सन’ गरिदिएको भए पनि थापाले विश्वासको मत लिँदा प्रदेशसभाका सभाध्यक्षले उनलाई मत दिएका थिए । त्यसलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि कार्कीले पुनः मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् ।

संसदीय अङ्कगणितलाई आधार मान्ने हो भने कार्कीले अहिले पनि विश्वासको मत पाउने सम्भावना न्यून देखिन्छ । प्रदेशसभामा एमालेका ४० सांसद रहे पनि उपसभामुख सिर्जना दनुवारले सभाको अध्यक्षता गर्ने भएकाले मतदानमा सहभागी हुन पाउँदिनन् । त्यो अवस्थामा एमालेको ३९ मत मात्र हुनेछ । यसअघि एमालेसँग रहेको राप्रपा अहिले सत्ता गठबन्धनसँग नजिकिएको चर्चा छ । राप्रपाले कार्कीलाई विश्वासको मत दिए पनि उनको पक्षमा ४५ मत मात्र हुनेछ ।

९३ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ४७ सांसदको मत आवश्यक पर्छ । कोशी प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका छ, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् ।

कार्कीले विश्वासको मत नपाएमा संविधानको धारा १६८ को उपधारा ५ प्रयोग हुन्छ, जसअनुसार प्रदेशसभाको कुनैपनि सदस्यले बहुमत सांसदको हस्ताक्षर जुटाएर मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न सक्ने प्रावधान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!