संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले एकीकृत बाल स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा नम्बर १९ स्थित बैजनाथपुर अस्पतालमा शुक्रबारदेखि शिविर सञ्चालन गरिएको हो ।

Advertisement

विशेष प्रकारको यो शिविरमा बिरामी जाँच गर्नुका साथै ५ वर्षभन्दा मुनिका बालबालिकामा पोषणको लेखाजोखा गरी औषधिसहित पोषण सामग्री वितरण गरिने कार्यवाहक मेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । यो शिविरले पोषण स्थिति सुधार गर्दै बालबालिकाहरूको बिरामीदर र मृत्युदर घटाउने महानगरको अनुमान छ ।

शिविरमा बाल रोग विशेषज्ञ, पोषण विशेषज्ञ, स्वास्थ्य परामर्शदाता, स्वास्थ्यकर्मी, नर्सिङ कर्मचारीलगायतले सेवा दिनेछन् । पोषण स्थिति पत्ता लगाउन पाखुराको जाँचका साथै उचाइ र तौलसमेत जाँच गरी पोषणको लेखाजोखा गरिन्छ । कुपोषण भएका बालबालिकाहरूलाई बालरोग विशेषज्ञ तथा पोषण विज्ञको सल्लाह अनुसार ३ महिनासम्म पोषण सामग्रीसमेत प्रदान गरिनेछ । पोषण सामग्रीमा चना, दाल, दूध, केरा, अण्डा, चामलसमेत वितरण गरिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए ।

शिविरमा आउने सबै बालबालिकाहरूलाई सरसफाइ प्रवर्द्धनका लागि दुईवटा हात धुने साबुनसमेत प्रदान गरिनेछ । बिरामी पत्ता लागेका बालबालिकाहरूलाई निःशुल्क औषधि प्रदान गर्नुका साथै रिफर गर्नुपरेको अवस्थामा अस्पतालहरूसँग समन्वय गरी निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ । यो शिविर महानगरका सबै वडामा सञ्चालन गर्ने महानगरको योजना छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!