संगालोखबर सम्वाददाता

धनकुटा । निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरका लागि धनकुटा आइपुगेका अमेरिकन डाक्टरहरुको टोलीलाई आइतवार धनकुटामा बाजागाजासहित भव्य स्वागत गरिएको छ । शिविर संचालन तथा व्यवस्थापन मूल समितिको अगुवाइमा जिल्लावासीले डाक्टरहरुलाई स्वागत गरेका हुन् ।

Advertisement

असोज १ देखि १२ गतेसम्म धनकुटा जिल्ला अस्पतालमा शिविर सञ्चालन गरिदैछ । सोही शिविरका लागि अमेरिकन डाक्टरहरुको ४२ सदस्यीय टोली धनकुटा आएको हो । उनीहरुलाई हुलाकटोलस्थित चुवाको बोट चोकमा पञ्चेवाजा बजाउँदै फुलमाला र टिका लगाएर स्वागत गरियो ।

स्वागतका क्रममा स्थानीय आठपहरिया जातीले ढोलनाच र नेवार समुदायले लाखे नाच प्रस्तुत गरेका थिए । डाक्टरहरुलाई स्वागत गर्न स्थानीयबासी आ आफ्नो जातिय पहिरनमा सजिएर आएका थिए । चुवाको बोटमा स्वागत पश्चात पञ्चेबाजासहित उनीहरुलाई परिचयमोड, बिच बजार, भीमनारायण चोक हुँदै माथिल्लो कोप्चे पुर्याइएको छ ।

अलोहवा मेडिकल मिसन अमेरिकासँगको सहकार्यमा सञ्चालन गर्न लागिएको शिविरमा हर्निया, हाइड्रोशिल, पित्तथैलीको पथरिया, छाला तथा मासुमा पलाएको गाँठागुठी, मुत्रथैलीको पथरिया, पायल्स लगायत रोगको निःशुल्क शल्यक्रिया गरिनेछ । त्यस्तै, पाठेघर झरेको, अण्डाशयको पानी फोका, लिंगमा छाला टाँसिएको, पाठेघरको मासु लगायतको पनि निःशुल्क शल्यक्रिया हुनेछ ।

दाँत भर्ने तथा उखेल्ने, घाँटी थाइराइड/टन्सिलको उपचार पनि गरिन्छ । त्यस्तै कृत्रिम हात पनि वितरण गरिनेछ । अलोहवा मेडिकल मिसन अमेरिकाले यसअघि नेपालमा ७ वटा शिविर सञ्चालन गरेको थियो । जसमध्ये धनकुटामा पाँच वटा शिविर भएका छन् भने नुवाकोट र सिरहामा पनि एक/एक पटक शिविर सञ्चालन गरिएको थियो ।

तस्वीरः सन्तोष सुवेदी/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!