धनकुटा । साहित्यकार झमक घिमिरेले तिजमा रमाइलो गर्ने नाममा विकृति फैलिदै गएको उल्लेख गरेकी छन् । धनकुटामा शनिबार निशान मन्दिर व्यवस्थापन समिति र भीमदल गण सल्लेरीले आयोजना गरेको तिज विषेश कार्यक्रममा घिमिरेले खुट्टाले लेखेर यस्तो टिप्पणी गरेकी हुन् ।
निशान मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार घिमिरेलाई प्रमुख अतिथि बनाइएको थियो, सोही अवसरमा उनले लेखेको मन्तव्य मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले वाचन गरेर सुनाए ।
आफन्तसँग भेटघाट र रमाइलो गर्ने चाड तीजमा पछिल्लो समय विकृति बढिरहेको र महँगा लुगा कपडा प्रदर्शन गर्ने होडबाजी चलेको उनले उल्लेख गरेकी छन् । उनले तीजको विकृतिलाई हटाउँदै अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याएकी छन् ।
कार्यक्रममा साहित्यकार घिमिरेलाई सम्मान पनि गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, झमक घिमिरे प्रतिष्ठानका संस्थापक गोपाल गुरागाईँ, नेपाली सेनाका गणपति सुमन थापा, निशान मन्दिर व्यवस्थापन समितिका सचिव घिमिरे लगायतले दोसल्ला ओढाएर साहित्यकार घिमिरेलाई सम्मान गरेका हुन् ।
वि.सं २०३७ साल असार २१ गते धनकुटाको कचिँडेमा जन्मिएकी घिमिरे प्रतिभावान् नेपाली साहित्यकार हुन् ।
जन्मजात हात गोडा नचल्ने, उभिन, हिँड्न र बोल्न नसक्ने उनी सुन्न र बुझ्न सक्छिन् । २ खुट्टाको ३ औला चल्ने उनले तीनै औलाको सहायताले लेख्ने गरेकी छन् ।