संगालोखबर सम्वाददाता

विराटनगर । नेकपा एमाले मोरङले आगामी पुसमा १० औं जिल्ला अधिवेशन गर्ने भएको छ । एमाले जिल्ला कमिटीको आठौँ पूर्ण बैठकले पुस २७ र २८ गते अधिवेशन गर्ने मिति तय गरेको हो ।

Advertisement

२०७८ पुस २३ र २४ गते ९ औं जिल्ला अधिवेशन भएको थियो । पार्टी केन्द्रको निर्णय बमोजिम दुई वर्षमा जिल्ला अधिवेशन गर्न लागिएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । जिल्ला अधिवेशनपछि १७ वटै पालिका कमिटीको अधिवेशन हुनेछ ।

बैठकले एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन भव्यरूपमा सम्पन्न गर्न सम्पूर्ण पार्टी पंक्ति परिचालन गर्ने निर्णय पनि गरेको छ । आगामी असोज १२ र १३ गते विराटनगरमा प्रदेश अधिवेशन गर्ने तयारी छ । अधिवेशनका लागि प्रतिनिधि छनौट गर्न जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्कीको संयोजकत्वमा प्रदेश प्रतिनिधि संयोजन र व्यवस्थापन समिति गठन गरिएको छ । समितिले जिल्लाभरीबाट प्रतिनिधि छनौटका लागि समन्वय र सहजीकरण गर्ने अध्यक्ष पोखरेलले बताए ।

प्रदेश अधिवेशनका लागि मोरङबाट १७८ जना प्रतिनिधि छनौट हुनेछन् । जसमा १०० पार्टी सदस्य बराबर एक जना प्रतिनिधि चयन गरिनेछ । प्रतिनिधि छनौट गर्दा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागिता हुनुपर्ने प्रावधान छ । युवाहरूको सहभागीलाई पनि जोड दिइएको छ ।

मजदुर निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन हुनेछन् । दलित समुदायको प्रतिनिधित्वका लागि प्रतिनिधि छनौट गर्न मुक्ति समाज जिल्ला कमिटी पदाधिकारीलाई सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!