संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा आज ५५औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिने भएको छ । रथयात्रालाई भव्यता दिन आवश्यक तयारी पुरा भइसकेको मुल समारोह समितिले जनाएको छ ।

Advertisement

दुई महिना अघिदेखि तयारी सुरु गरिएको रथयात्रा आज दिउँसो १ बजे विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु हुनेछ । वि.सं. १९८८ मा खट यात्राबाट शुरु भएको विराटनगरको ऐतिहासिक रथयात्रा २०२४ सालदेखि राधाकृष्ण रथयात्राका नामबाट निकालिन थालिएको हो । यो रथयात्रा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने गरिएको छ ।

कोभिड–१९ महामारीका कारण २०७७ यताका दुई वर्ष भने रथयात्रा पुनः खट यात्रामै सिमित भएको थियो । गत वर्षदेखि भने झाँकीसहितको रथयात्रा पुनः सुरु भएको हो । राधाकृष्ण मन्दिरदेखि सुरु हुने राधाकृष्ण रथयात्रा मेनरोड हुँदै ट्राफिक चोक–रोडशेष चोक– महेन्द्र चोक–बरगाछी पुगेर दुर्गा चोक हुँदै जम्मा ९ किलोमिटर दुरी पार गर्दै पुनः राधाकृष्ण मन्दिरसम्म गएर समापन हुनेछ । यस वर्ष करिव पाँच लाख मानिसले रथयात्रामा सहभागी भई अवलोकन गर्ने अनुमान गरिएको छ ।

४३ स्थानमा रथ रोक्ने व्यवस्था मिलाइएको छ भने रथ रोकिने स्थानहरुमा रथयात्राका सहभागीहरुलाई पानी पिउने व्यवस्था गरिएको छ । रथ रोकिएको स्थानहरुमा श्रद्धालु भक्तजनहरूलाई राधाकृष्ण रथयात्राको लठ्ठा छुने, तान्ने र रथको दर्शन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । राधाकृष्ण रथयात्रामा ५८ प्रकारका सांस्कृतिक झाँकीहरुले आ–आफ्नो प्रस्तुतिसहित सहभागिता जनाउने छन् ।

रथ तान्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वमा करिव पाँच सय स्वयंसेवक परिचालन हुनेछन् । एक हजार सुरक्षाकर्मी रथयात्राको सम्पूर्ण सुरक्षामा खटिने र उनीहरुले तीन तहमा रहेर सुरक्षा प्रदान गर्ने योजना बनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!