संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगर क्षेत्रमा भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप लगाइने भएको छ । महानगरका सबै वडामा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

Advertisement

स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रियामा खोप अभियानका विषयमा जानकारी दिइएको हो ।

विराटनगर महानगर क्षेत्रभित्र १८४ खोप केन्द्रमार्फत दादुरा–रुबेलाको खोप लगाइने महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । त्यसका लागि एउटा खोप केन्द्रमा दुईजना स्वास्थ्यकर्मी र दुईजना स्वयम्‌सेवक परिचालन गरिनेछ । कार्यक्रममा महानगरकी उपमेयर शिल्पा निराला कार्कीले सबैको साथ र सहयोगले खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिइन् ।

६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत अनिल देवले जानकारी दिए । उनले खोप लगाएका १० हजारमध्ये एक जना बालबालिकामा असर देखिन सक्ने सम्भावना रहेको जानकारी दिए ।

कोशी प्रदेशको मोरङ र सुनसरीमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । मोरङको रतुवामाई नगरपालिका र सुनसरीको बर्जु गाउँपालिका दादुरा–रुवेलाको उच्च जोखिममा छन् । हाल रतुवामाईमा ४१ जना र बर्जुमा ३२ जना दादुरा–रुवेलाका बिरामी भेटिएका छन् । सरकारले २०२६ सम्ममा दादुरा–रुवेला निवारण गर्ने लक्ष्य राखेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!