संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन विराटनगरका बैंकहरूले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । विराटनगर महानगरपालिकाले आयोजना गरेको छलफलमा बैंकका प्रमुखहरूले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापन अभियान सकारात्मक भएको भन्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

Advertisement

उनीहरूले तत्कालका लागि बैंकमा आउने सेवाग्राहीलाई महानगरले व्यवस्था गरेको पार्किङस्थलमा सवारी साधन पार्किङ गर्न अनुरोध गर्ने बताए । एनएमबी बैंकका प्रदेश प्रमुखसमेत रहेका नेपाल बैकर्स एशोसिएसन कोशी प्रदेशका अध्यक्ष सन्तोषकुमार बुढाथोकीले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापनको अभियानमा बैंकहरूका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बैंकमा आउने सेवाग्राहीलाई तत्कालका लागि पायक पर्ने पार्किङस्थलमा सवारी साधन राख्न लगाउने र अबदेखि बैंकको कार्यालय सर्दा पार्किङस्थल भएको ठाउँमा मात्रै सार्ने गरी समन्वय गर्ने उनले बताए । त्यस्तै हिमालयन बैंकका प्रदेश प्रमुख अमृत मल्लले तत्कालका लागि बैंकहरूले आफ्नै पार्किङस्थल बनाउन समस्या रहेको सुनाउँदै बैंक छेउछाउ खाली जमिन भए त्यसलाई बैंकहरूले भाडामा लिएर भएपनि पार्किङस्थल बनाउन सक्ने बताए ।

छलफलमा एनआईसी एसिया बैंकका प्रमुख हीरा पौडेल, गरिमा विकास बैंकका प्रमुख सुजित रेग्मी, माछापुच्छ्रे बैंकका उत्सव पराजुलीलगायतले महानगरको अभियानलाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । बैंकमा आउने सेवाग्राहीका सवारीलाई पार्किङको व्यवस्थापन मिलाउँन महानगरले बैंकहरूलाई यसअघि पत्राचार गरेको थियो, यो विषयमा छलफल पनि भएको थियो ।

बैंकहरूले पार्किङको व्यवस्थापन नगरेपछि महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा छलफल राखिएको हो । भदौ अन्त्यसम्ममा पार्किङ समस्या समाधानको विकल्पसहित पुनः छलफल गरेर टुंगो लगाउने छलफलमा सहमति भएको थियो । मेयर कोइरालाले महानगरमात्रै नभएर प्रदेशको राजधानी पनि भएकाले विराटनगरलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!