संगालोखबर सम्वाददाता

धनकुटा । आर्थिक अभावका कारण धनकुटा नगरपालिका–८ सान्ताङकी टेसमायाँ राईको मुटुको उपचारमा समस्या भएको छ । चिकित्सकले ५७ वर्षीया टेसमायाँको मुटुको दुवै भल्ब फेर्नुपर्ने बताएपनि पैसा अभावका कारण शल्यक्रिया गर्न नसकिएको परिवारको गुनासो छ ।

Advertisement

एक महिना अघिदेखि उनको शरीर चिसो भएर बेहोस हुने समस्या देखियो । उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदा डाक्टरहरूले मुटुको दुवै भल्ब फेर्नुपर्ने सुझाव दिए । प्रारम्भिक उपचारका लागि चार लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । तर, उपचार गर्ने पैसा नहुँदा श्रीमतिलाई पीडा खपाएर घरमै राख्नुपरेको श्रीमान् अहेन्द्र बहादुर राईले गुनासो गरे ।

यसअघि छोरीको टाउको र मेरुदण्डको उपचारका लागि १४ लाख खर्च गर्नुपर्दा सबै जायजेथा सकिएकाले सासूको उपचार गर्न नसकिएको बुहारी कमलाकुमारी पुनले बताइन् । ‘छोरीको उपचारका क्रममा सबै सकियो, अब हामीसँग आमाको उपचार गर्न एक पैसा छैन,’ दुखेसो सुनाउँदै कमलाकुमारीले भनिन्, ‘कहीँ कतैबाट सहयोग जुटेमा आमालाई बचाउँन सकिन्थ्यो कि भन्ने आश छ ।’

डाक्टरले राईलाई शल्यक्रियाका लागि डेढ महिनाको समय दिएका छन् । शल्यक्रिया गर्नुपर्ने समय नजिकिँदै गएकाले सहयोग गरेर ज्यान बचाइदिन उनको परिवारले सबैमा अपिल गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!