संगालोखबर सम्वाददाता

काठमाडौं। प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मालाई कालोमोसो दल्न आव्हान गर्ने माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का संयोजक पवन कार्कीलाई उच्छृङ्खल गतिविधि नगर्न कांग्रेस नेता सुवास पोख्रेलले चेतावनी दिएका छन् । अखिल (क्रान्तिकारी) का संयोजक कार्कीले सांसद शर्मालाई कालोमोसो दल्ने अभिव्यक्ति दिएपछि कांग्रेस नेता पोख्रेलले यस्तो चेतावनी दिएका हुन् ।

Advertisement

कार्कीले सांसद शर्मालाई कालोमोसो दल्ने भनेर गैरकानूनी अभिव्यक्ति दिएको भन्दै नेता पोख्रेलले सांसद शर्मामाथि कालोमोसो दलिए त्यही दिन प्रधानमन्त्रीलाई पनि कालोमोसो दल्ने चेतावनी दिए । ‘उहाँहरु अझै पनि जंगलकै धङ्धङीमा हुनुहुन्छ, यो लोकतन्त्र हो, कानून विपरीतको काम गर्ने छुट कसैले पनि छैन, एउटा सांसदलाई कालोमोसो दल्छु भनेर गैरकानूनी कुरा गर्न मिल्छ ?,’ एक राष्ट्रिय टेलिभिजनको अन्तर्वार्तामा बोल्दै नेता पोख्रेलले भने, ‘गतल काम नगर्न हामी आग्रह गर्छौ, यदि सुनिल शर्मालाई कालोमोसो दलियो भने हामी त्यही दिन प्रधानमन्त्रीलाई कालोमोसो दल्छौँ ।’

केही दिन अघि सदनमा सांसद शर्माले आफूलाई आतङ्ककारी शैलीमा पक्राउ गरिएको अभिव्यक्ति दिदैँ गृहमन्त्री र प्रधानमन्त्रीले आतङ्ककारी सरकारको की लोकतान्त्रिक सरकारको नेतृत्व गरेको भन्दै प्रश्न गरेका थिए । त्यसपछि माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का संयोजक कार्कीले प्रधानमन्त्री र गृहमन्त्रीलाई सांसद शर्माले आतङ्ककारी भनेको भन्दै प्रेस विज्ञप्ति जारी गरेर सांसद शर्मालाई सार्वजनिक रुपमा बहिष्कार गर्न आव्हान गरे । उनले सांसद शर्मालाई कालोमोसो दल्न फेसबुक मार्फत आव्हान पनि गरेका थिए ।

संयोजक कार्कीलाई कारबाही गर्न सांसद शर्माको माग

आफूलाई कालोमोसो दल्न आव्हान गर्ने माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का संयोजक पवन कार्कीलाई कारबाही गर्न सांसद डा.सुनिल शर्माले माग गरेका छन् । कानूनी राज्यमा कालोमोसो दल्न खुलमखुल्ला आव्हान गर्ने कार्कीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न सांसद शर्माले माग गरेका हुन् ।

जथाभावी गर्ने छुट कसैलाई पनि नभएको भन्दै सांसद शर्माले गैरकानूनी हर्कत गर्ने कार्कीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे । माओवादी केन्द्रले नै आफ्ना विरुद्धमा विद्यार्थी संगठन परिचालन गरेको सांसद शर्माको ठम्याई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!