संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर–८ का महमद हलिममाथि तरबार प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीय हलिममाथि तरबार प्रहार गरेर फरार भएका विराटनगर–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

मोरङको नेपाल-भारत सीमा क्षेत्रबाट आज विहान करिब २ बजे उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । गत सोमबार मोटरसाइकलमा तीन जनाको समूहमा आएका उनीहरूले विराटनगरको व्यस्त बजारमा दिउँसै हलिममाथि तरबार प्रहार गरेका थिए ।

हलिममाथि आक्रमण गरेपछि तरबार झाडीमा फालेर उनीहरु भागेका थिए । घटनामा प्रयोग भएको तरबार प्रहरीले यसअघि नै बरामद गरिसकेको छ । पहिले भएको झगडाको निहुँमा हलिममाथि तरबार प्रहार गरिएको अनुमान गरिएको छ । प्रहरीले यो विषयमा थप अनुसन्धान गर्दैछ ।

तरबार प्रहारबाट गम्भीर घाइते भएका हलिमको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । घटनामा अन्य व्यक्ति पनि संलग्न रहेकोले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!