संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मेरुदण्ड सम्बन्धी शल्यक्रियाहरु अब दूरबिनको माध्यमबाट गरिने भएको छ । बिरामीलाई अत्याधुनिक र सहज उपचार सेवा उपलब्ध गराउँन ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु गर्न लागिएको नोबेल अस्पतालले जनाएको छ ।

Advertisement

यो प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएको, हड्डी सरेको, हड्डी खिइएको, नसा जाने भाग साँगुरिएको जस्ता मेरुदण्ड सम्बन्धीको शल्यक्रिया दूरबिनको माध्यमबाट गरिनेछ । यसका लागि आवश्यक समन्वय र सहकार्य गर्न नोबेल अस्पतालले दक्षिण कोरियाको डेजियन युरी अस्पतालसँग सम्झौता गरेको छ ।

दक्षिण कोरिया पुगेका नोबेल अस्पतालका उपनिर्देशक एवं न्यूरो विभाग प्रमुख बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले सम्झौता गरेका हुन् । सम्झौता पत्रमा नोबेलको तर्फबाट डा.काफ्ले र युरी अस्पतालको तर्फबाट अध्यक्ष चिओल वुङ पार्कले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब युरी अस्पतालका बरिष्ठ चिकित्सकहरूले नोबेल अस्पतालका चिकित्सकहरूलाई ‘इण्डोस्कोपि स्पाइन सर्जरी’ सम्बन्धी विश्वकै नयाँ प्रविधिको प्रयोगका विषयमा सहजिकरण गर्नेछन् । त्यस्तै, दुवै अस्पतालका चिकित्सकबीच अनुभव आदानप्रदान गर्ने गरी पनि सम्झौता भएको नोबेल अस्पतालका महाप्रबन्धक दिपेश राईले जानकारी दिए ।

दूरबिनको माध्यमबाट गरिने मेरुदण्डको शल्यक्रियाका लागि दक्षिण कोरियाको युरी अस्पताल विश्वकै प्रसिद्ध मानिन्छ ।

नेपाल, भारत, चीन, अमेरिका, थाइल्याण्ड लगायत देशबाट पनि सो अस्पतालमा नयाँ प्रविधिको अनुभव हासिल गर्न चिकित्सकहरू जाने गरेका छन् । सोही अस्पतालसँग सहकार्य गरेर नोबेलले मेरुदण्ड सम्बन्धी शल्यक्रियामा नयाँ प्रविधिको प्रयोग गर्न लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!