संगालोखबर सम्वाददाता

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले सांसद डा.सुनिल शर्मालाई थुनामा नराख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणी शर्माको इजलासले सांसद शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न सीआइवीलाई आदेश दिएको हो ।

Advertisement

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित कांग्रेस सांसद शर्माले गत साउन १० गते संसद बैठकमा सुन तस्करीको विषयलाई लिएर आफ्नै पार्टीका अर्थमन्त्री डा.प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए । सुन तस्करीमा जो सुकै संलग्न भएपनि कारबाही गर्नुपर्ने धारणा राख्दै आएका सांसद शर्माले तस्करीको मुख्य नाइके पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणा समेत गरेका थिए । सांसद शर्माले सदनमा यस्तो अभिव्यक्ति दिएको १५ दिनपछि बिहीबार अपरान्ह करिब ३ बजे नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीको टोलीले काठमाडौंको गोल्फुटारस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।

मन्त्रीको राजीनामा मागेको प्रतिशोधमा सांसद शर्मालाई पक्राउ गरिएको भन्दै सर्वत्र विरोध भइरहेको छ । आज प्रतिनिधि सभाको बैठकमा पनि यो बिषय उठ्यो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांसद शर्माको पक्राउ प्रति आपत्ति जनायो । एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले सुन तस्करीको बिषयमा पटक पटक आवाज उठाइरहेका सांसद शर्मालाई सर्टिफिकेटको बहाना झिकेर कानून विपरित पक्राउ गरिएको भन्दै आपत्ति जनाइन् ।

यता, सीआइवीले डा.शर्माको आइएससी उत्तीर्णको प्रमाणपत्र नक्कली भएको आशङ्कामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको दावी गरेको छ । सांसद शर्मालाई प्रहरीले आज म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । तर, थुनामा नराखी अनुसन्धान गर्न भन्दै अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!