विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री बनेको २२ दिनमा बर्खास्त भएर पुनः हिजो मुख्यमन्त्री नियुक्त भएका थापाले आज चार सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् ।
सभामुखबाट राजीनामा दिएका माओवादी सांसद बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाइएको छ । त्यस्तै, खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र भौतिक पूर्वाधार विकास मन्त्रीमा नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु नियुक्त भएका छन् ।
मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आज उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री आफैले पाँच वटा मन्त्रालयको जिम्मेवारी लिएका छन् । आन्तरिक मामिला तथा कानून, उद्योग कृषि तथा सहकारी, पर्यटन बन तथा वातावरण, सामाजिक विकास र स्वास्थ्य मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी रहेकाले मुख्यमन्त्री थापाले नै जिम्मेवारी लिएका हुन् ।
यसैबीच, नवनियुक्त मुख्यमन्त्री थापा र तीन जना मन्त्रीले आज साँझ पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।