- संगालोखबर सम्वाददाता

काठमाडौं । स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याएबापत प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा सम्मानित भएका छन् । माइती नेपालले आज काठमाडौंमा कार्यक्रम आयोजना गरी सांसद शर्मालाई सम्मान गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सांसद शर्मालाई दोसल्ला र कदरपत्र प्रदान गरी सम्मानित गरे । ‘नेपालमा स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा अतुलनीय योगदान गरी स्वास्थ्य सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउँन प्रभावकारी भूमिका खेल्दै समाजमा पछाडि पारिएका सीमान्तकृत, सुविधाविहिन र अभिभावकविहीन माइती नेपालका सेवाग्राही बालबालिका तथा महिलाहरूलाई उच्चस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्नुभएकोमा तपाईंको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै यो कदर पत्र प्रदान गरिएको छ’ डा.शर्मालाई दिइएको कदर पत्रमा भनिएको छ ।

सो अवसरमा मन्त्री आचार्य, माइती नेपालकी अध्यक्ष कोइराला लगायत वक्ताहरूले डा.शर्माले पुर्याएको योगदानको चर्चा गर्दै उनको सेवाभावको खुलेर प्रशंसा गरे । मोरङको क्षेत्र नं. ३ बाट निर्वाचित सांसद शर्मा मेडिकल कलेज व्यवसायी पनि हुन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको अध्यक्ष हुँदा डा.शर्माले २०७८ असार ११ गते माइती नेपालसँग सम्झौता गरी यौनकर्मी, एचआइभी संक्रमणका पीडित तथा अनाथ बालबालिकालाई ५० लाख बराबरको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका थिए ।

विराटनगरस्थित नोवेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले हजारौं बिरामीलाई निःशुल्क उपचार गराइसकेका छन् । उनले ठूलो संख्यामा असहाय र वेवारिसे बिरामीलाई उद्धार गरी निःशुल्क उपचार गरेर उनीहरूको ज्यान बचाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!