संगालोखबर सम्वाददाता

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणा गरेका छन् ।

Advertisement

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद शर्माले यस्तो घोषणा गरेका हुन् । सुन तस्करीका मुख्य नाइके पक्राउ गर्न सात दिनसम्मको समय दिने र सो समयसम्म पनि नाइके पक्राउ नगरी भरियालाई मात्र थुन्ने काम भए आफू सदनमै अनशनमा बस्ने उनले घोषणा गरे । ‘यदि समय लिने हो भने ७ दिनभित्र सुन तस्करीका मुख्य नाइके पक्राउ गछौँ भनेर भन्नुपर्यो, यदि यो विषयलाई समान्य ढंगले हेरियो र भरियालाई मात्र थुनेर नाइके पक्राउ गरिएन भने म सदनमै आमरण अनशन बस्ने घोषणा गर्छु,’ सांसद शर्माले भने ।

यो पक्ष वा प्रतिपक्षको सवाल नभई आम नेपालीको सवाल भएकाले आफू जनताको सवालमा अनशन बस्ने उनको भनाई छ । चैत १७ गते अर्थमन्त्रीले सपथ खानु, बैशाख २० गते अर्थसचिव परिवर्तन हुनु, जेठ १७ गते भन्सारको चिफ फेरिनु र साउन ५ गते सुन भित्रिनुमा सम्बन्ध रहेको उनले आशंका व्यक्त गरे ।

कांग्रेसबाट निर्वाचित भएका सांसद शर्माले आफ्नै पार्टीका अर्थमन्त्री डा.प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणका नाइके पक्राउ गर्न नसकेकाले उनीहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनले बताए ।

देश, विदेशका धेरै व्यक्तिले नैतिकताका आधारमा राजीनामा दिएको उदाहरण दिदै उनले यहाँ पनि गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाई छ । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित शर्मा सरकारी तलब भत्ता नलिने एकमात्र सांसद हुन् । पार्टीगत स्वार्थभन्दा माथि उठेर अभिव्यक्ति दिदै आएका सांसद शर्मा जनपक्षीय सवालहरूमा खरो उत्रँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!