संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका र तेह्रथुमको लालीगुराँस नगरपालिकाको सीमास्थित चित्रे बजारमा राँके मेला लागेको छ । सोमबारबाट सुरु भएको मेला आज सकिदैछ ।

Advertisement

मेला समापनको दिन आज कलाकारहरू सन्ध्या बुढा ‘काउली बुढी’, उमेश राई ‘फुलन्देकी आमा’ र गायिका रचना रिमाल आउँदैछन् । दिउँसो करिब २ बजेपछि कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

मेलामा धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी, मोरङसहित छिमेकी मुलुक भारतबाट पनि मानिसहरू आएका छन् । दुई दिनको अवधिमा करिब ६० हजार मानिसले मेला अवलोकन गरेको आयोजक समिति अध्यक्ष पूर्णजङ राईले बताए ।

‘हिजो त मेलामा मान्छेको थामिनसक्नु भीड थियो, गाडी आवतजावतमै समस्या भयो, एकैदिन झण्डै ५० हजार हाराहारी मानिसले मेला अवलोकन गरेको अनुमान गरेका छौं,’ अध्यक्ष राईले संगालोखबरसँग भने, ‘हामीले जति सोचेका थियौं, त्यो भन्दा पनि अझै राम्रो भइरहेको छ मेला ।’

मेलामा विशेषगरी युवायुवतीको भीड लागेको छ । धेरैजसो युवायुवती आफ्ना प्रेमीप्रेमिकाको साथमा आएका छन् । हरेक वर्ष लाग्दै आएको मेलामा कतिपय युवायुवतीहरू त्यही चिनजान भएर विवाहसमेत गर्ने गरेकाले बुढापाकाहरूले यो मेलालाई ठिटाठिटीहरूको ‘जोडी बाँध्ने मेला’ पनि भन्ने गरेका छन् ।

मेलाका कारण चित्रे र वसन्तपुरका होटलहरू खचाखच छन् । मेलाको प्रमुख आकर्षण लिम्बू जातिको धान नाच हो । लिम्बुसहित अन्य जातिका युवायुवतीहरूले पनि एकआपसमा हात समाएर धान नाच्ने गर्छन् ।

चित्रे लेकाली क्षेत्र भएकाले मेलामा औल क्षेत्रमा उत्पादन हुने आँप, लिची, कटहरलगायत फलफूलको व्यापार धेरै हुन्छ । फलफूल लिएर मेलामा आएका औल क्षेत्रका मानिसहरूले लेकाली क्षेत्रमा उत्पादन भएको आलुसहितका अन्य फलफूल तथा तरकारी साटासाट गर्ने गरेका छन् । दुई सय वर्ष अघिदेखि लाग्न थालेको यो मेला पूर्वी पहाडी जिल्लाको पुरानो र ठुलो मेला दावी गरिन्छ ।

तस्वीर सौजन्य: प्रकाश पाक्सावा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!