रबिन कटेल
फाइल तस्वीर

विराटनगर । कोशी प्रदेशका मुख्य शहरहरूमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालक तथा सवारी धनीले अब बैंकमार्फत ट्राफिक जरिवाना भुक्तानी गर्नुपर्ने भएको छ । इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले मोरङ, सुनसरी र झापाका मुख्य शहरमा ट्राफिक जरिवाना बैंकमार्फत भुक्तानी गर्नुपर्ने नियम सोमबारबाट कार्यान्वयनमा ल्याएको हो ।

पहिलो चरणमा यो नियम मोरङको विराटनगर महानगरपालिका, सुनसरीको धरान र इटहरी उपमहानगरपालिका, झापाको बिर्तामोड र दमक नगरपालिका क्षेत्रमा लागू गरिएको छ । यसलाई प्रदेशका अन्य जिल्लामा पनि क्रमशः विस्तार गर्ने प्रदेश ट्राफिक प्रहरी कार्यालयको योजना छ । यसअघि ट्राफिक प्रहरीले रसिद काटेर जरिवाना बापतको रकम हाताहाती लिदै आएका थिए । तर, अब जरिवाना रकम तिर्न बैंक जानुपर्नेछ ।

Advertisement

ट्राफिक जरिवाना भुक्तानीलाई समय अनकुल प्रविधिमैत्री एवं पारदर्शी बनाउँन बैंकमार्फत जरिवाना भुक्तानी गर्नुपर्ने नियम लागू गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी श्यामकुमार महतोले बताए । ‘ट्राफिक प्रहरीले जरिवाना हातमै लिएपनि अन्तिममा बैंकमै लगेर जम्मा गर्नुपर्ने हो, जरिवाना तिर्नुपर्ने व्यक्तिले सिधै बैंकमै लगेर जम्मा गर्दा झन् राम्रो हुन्छ,’ एसपी महतोले संगालोखबरसँग भने, ‘ट्राफिक प्रहरीले पैसा खायो की भनेर शंका गर्नेहरूलाई पनि यसले शङ्काको बाटो बन्द गर्दिन्छ, समय अनकुल व्यवस्थित पनि हुन्छ, त्यसैले बैंकमार्फत नै जरिवाना लिने नियम लागू गरेका हौं ।’

ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कागजपत्र लिएर २४ घण्टे पुर्जी दिन्छन्, सो समयभित्र राष्ट्रिय वाणिज्य बैंकमार्फत जरिवाना बापतको राजश्व दाखिला गरेपछि मात्र सवारीको कागजपत्र फिर्ता दिइनेछ । जरिवाना भुक्तानी प्रकृयालाई थप सहज बनाउँन अनलाइन प्रणालीमार्फत रकम तिर्ने व्यवस्था लागू गर्न पनि पहल भइरहेको एसपी महतोले जानकारी दिए ।

त्यस्तै, ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकको अभिलेख राख्न ‘ट्राफिक भायोलेशन रेकर्ड सिस्टम’ पनि सोमबारबाटै सुरु गरिएको छ । यो पनि पहिलो चरणमा विराटनगर, धरान, इटहरी, बिर्तामोड र दमकमा सुरु गरिएको हो । ती क्षेत्रमा अब चालकले ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड कम्प्युटरमा रहनेछ । पटक-पटक नियम उल्लंघन गर्नेलाई थप जरिवाना लाग्नेछ ।

पाँच पटक भन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकहरूको नियमानुसार सवारी चालक अनुमति पत्र निलम्बन हुने कानूनी व्यवस्था भएकाले ख्याल गर्न कार्यालयले सचेत पनि गराएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement