संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा आज साँझ ब्वाँसो जस्तो देखिने जंगली जनावरको टोकाइबाट नौ जना घाइते भएका छन् । धनकुटा नगरपालिका–७ का छ जना र धनकुटा–५ का तीन जनालाई सो जनावरले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

धनकुटाको पाङसिङ टोल, सितलपाटी, बालमन्दिर लगायत क्षेत्रका मानिसहरूलाई आक्रमण गरेर सो जनावरले आतंक मच्चाएको हो । धनकुटा–५ का ५२ वर्षीय प्रेम बहादुर याख्खा, सर्मिला लिम्बू र ९ वर्षीया प्रस्ना सुनामलाई सो जनावरले टोकेको छ । शर्मिला र प्रस्ना साँझ पानी लिन कुवा गएका बेला ब्वाँसो जस्तो देखिने जनावरले आक्रमण गरेको स्थानीय नगेन्द्र राईले जानकारी दिए ।

यता, धनकुटा–७ सितलपाटीकी ३३ वर्षीया सावित्री राई, धनकुटा–७ का २९ वर्षीय धिरज राई, ६६ वर्षीय नरबहादुर मगर, ७३ वर्षीया सपुतकुमारी राई, ४२ वर्षीय शुक्रबहादुर राई र १३ वर्षीय उत्छव लिम्बुलाई पनि सो जनावरले आक्रमण गरेर घाइते बनाएको छ । जनवारको आक्रमणबाट उनीहरूको हात, खुट्टा, टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जंगली जनावरको आक्रमणमा परी उपचारका लागि जिल्ला अस्पतालमा भर्ना भएका घाइतेहरू । तस्वीर: बसन्त राई

सो जनवारले बस्ती क्षेत्रमा प्रवेश गरेर भेटेजति सबै मान्छेलाई आक्रमण गरेको धनकुटा–७ पाङसिङ टोलका स्थानीय सन्देश आठपहरिया बताउँछन् । ‘बेलुका ५ बजेतिरबाट मान्छेलाई टोक्न थाल्यो, सुरुमा पाङसिङ टोलका मान्छेलाई टोकेर सितलपाटी, बालमन्दिर तिरका मान्छेलाई पनि टोक्यो, फेरी फर्किएर पाङसिङ टोलका मान्छेलाई टोक्यो,’ आठपहरिया भन्छन्, ‘गाउँमा भेटेजति सबै मान्छेलाई टोक्दै हिडेर पुरै आतंक मच्चायो ।’

मान्छे टोक्ने जनावरलाई मारियो

मान्छेलाई आक्रमण गरेर आतंक मच्चाउने सो जनावरलाई धनकुटा–७ पाङसिङ टोलका स्थानीयले  मारेका छन् । गाउँमा मान्छेलाई आक्रमण गर्दै हिड्‌न थालेपछि प्रतिकार गर्ने क्रममा सो जनावर मरेको स्थानीयबासीले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!