संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान सुरु गरिएको छ । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षरोपण अभियान थालिएको हो ।

Advertisement

मुहान क्षेत्रको संरक्षण गर्दै खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि वृक्षरोपण अभियान थालिएको धनकुटा नगरपालिकाका प्रमुख एवं खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष चिन्तन तामाङले जानकारी दिए । ‘खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण थालेका छौं, यसलाई अभियानकै रुपमा अघि बढाउछौं,’ मेयर तामाङले भने, ‘अब हरेक साता वृक्षरोपण र मुहान क्षेत्रको सरसफाइ गर्ने योजना बनाएका छौं ।’

अभियानको पहिलो दिन शनिवार धनकुटा नगरपालिका–१ स्थित विद्युत प्राधिकरणको जग्गा, आइतबारे रानी बन, चञ्चलेश्वर महादेव मन्दिर क्षेत्र र आइतबारे मुहान क्षेत्रमा वृक्षरोपण गरिएको छ ।

सो क्षेत्रमा धुपी, कल्की र उत्तिसका करिब १ हजार ३ सय बिरुवा रोपिएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङले जानकारी दिए । वृक्षरोपणका लागि धनकुटाका बिभिन्न स्थानबाट करिब तीन सय मानिस भेला भएका थिए ।

अब, असार ३० गते शनिवार आइतबारे मुहान क्षेत्रमा वृक्षरोपण गरिदैछ । सो क्षेत्रमा करिब ३ हजार ५ सय हाराहारी बिरुवा रोप्ने योजना छ । खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान थालिएकाले सहभागि हुन खानेपानी उपभोक्ता समितिले सबैमा आव्हान पनि गरेको छ ।

धनकुटामा दैनिक ३० लाख लिटर पानी खपत हुने गरेको छ । यहाँ ३ हजार ३ सय परिवार खानेपानीका उपभोक्ता छन् । सो जलाधार क्षेत्रबाट पानी ल्याई धनकुटाको सल्लेरी, स्कुलडाँडा, कागते र निगालेको ट्याङ्कीमा जम्मा गरेर पानी वितरण गर्ने गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!