विराटनगर । कोशी प्रदेश सरकारमा तीन मन्त्री थपिएका छन् । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले माओवादीबाट दुई र कांग्रेसबाट एक जना मन्त्री थप्दै आज मन्त्रिमण्डल विस्तार गरेका हुन् ।
माओवादीको कोटाबाट मन्त्री बनेका जीवन आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँसमेत रहेका आचार्य यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री थिए । माओवादीले पुनः आचार्यलाई मन्त्रीमा दोहोर्याएर पठाएको हो ।
माओवादीकै राजेन्द्र कार्की र नेपाली कांग्रेसबाट रामकुमार खत्रीलाई मन्त्री बनाइएको छ । उनीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकिएको छैन, विना विभागीय मन्त्रीको रुपमा नियुक्त गरिएको हो । उनीहरूले आजै पद तथा गोपनीयताको सपथ लिएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता थापा गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् । शुक्रबार सपथ ग्रहणपछि उनले पहिलो पटक कांग्रेस र एकीकृत समाजवादीबाट एक-एक जनालाई मन्त्री नियुक्त गरेका थिए ।